फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ७:३४ मा प्रकाशित

चितवन, ३ वैशाख – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन् ।

एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी चितवनले संयुक्त रुपमा जिल्ला प्रशासनमा धर्ना दिएका हुन् । द्वन्द्वकालीन घटनालाई सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गरेर मात्र अनुसन्धान गरिनुपर्ने भन्दै उनीहरुले पक्राउ परेकाको तत्काल रिहाइ हुनुपर्ने माग गरेका छन् ।

दिउँसो १२ बजेसम्म जिल्ला प्रशासनमा धर्ना बस्ने र त्यसपछि जिल्ला अदालतअगाडि कोणसभा गर्ने एकीकृत नेकपा माओवादी चितवनका पूर्व संयोजक घनश्याम दाहालले बताए  ।

पक्राउ परेका दुई अभियुक्तको बयान लिने क्रम आज पनि जारी छ । हिजो दिउँसोबाट छविलाल पौडेलको बयान लिन थालिएको हो । सकेसम्म आज दुवै जनाको बयान सक्ने तयारीमा रहेको अदालतका श्रेस्तेदार विद्याराज पौडेलले जानकारी दिए  ।

छविलालसँगै भीमसेन पौडेललाई पनि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुई अभियुक्तसहित १३ जनाविरुद्ध जिल्ला अदालत चितवनमा अभियोगपत्र दर्ता भएको छ ।

अधिकारी परिवारले सुरुमा ११ जनाविरुद्ध जाहेरी दिएकामा प्रहरीको अनुसन्धानबाट तीन जना थप भएको थियो भने परिवारले नै गृहमन्त्रालयमा दिएको उजुरीमा जानुका पौडेलको नामसमेत उल्लेख गरिएको थियो ।

प्रहरी प्रतिवेदनमा उल्लेख भएका तीन अभियुक्तमध्ये दुई जना सशस्त्र द्वन्द्वमा मारिएका कारण १३ जनाविरुद्ध मात्र अदालतमा अभियोगपत्र दर्ता भएको जिल्ला न्यायाधिवक्ता एकनारायण लम्सालले बताए  ।

बयानपछि थुनछेक बहसका लागि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, बारका पूर्व महासचिव रमण श्रेष्ठलगायत २० जना वकिल तयारीमा रहेका छन् ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले २० जनाभन्दा बढीले प्रतिवादीकातर्फबाट बहस गर्ने बताए े । प्रहरीले यसअघि रामप्रसाद अधिकारी र परशुराम पौडेलविरुद्ध आतङ्ककारी तथा विध्वङ्सात्मक अपराधअन्तर्गत मुद्दा चलाएकामा अहिले भने उनीहरु विरुद्ध ज्यानसम्बन्धी महलको दफा १३ को उपदफा १ अर्थात् सर्वस्वसहित जन्म कैदको मागसहितको मुद्दा चलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us