नेपाली दुतावासहरुमा करोडौं भ्रष्टाचार

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते १:३५ मा प्रकाशित

काठमाण्डु, ३ बैशाख –विदेशस्थित ३२ नेपाली कूटनीतिक नियोगमा जथाभावी खर्च हुने गरेको छ ।

नियोगका कर्मचारीले विदेश नलगेका परिवारका नाममा र हुँदै नभएको औषधि उपचारका नाममा समेत रकम बुझेको पाइएको छ । ल्हासा, कतार र यांगुनसहित २४ नियोगबाट फर्जी परिवारको नाममा आठ करोड रुपैया वितरण भएको महालेखा परीक्षकको प्रतिवेदन, ०७०ले देखाएको छ ।

आश्रित परिवार विदेश लगे मात्र भत्ता लिन पाउने व्यवस्था छ । मन्त्रिपरिषद्को २३ जेठको निर्णयमा प्रमुख तथा कर्मचारीहरु नियोग बसुञ्जेल परिवारका आश्रित सदस्य लैजान पाउने र उनीहरुलाई पारिवारिक भत्ता उपलव्ध हुन व्यवस्था गरिएको छ ।

तर, आर्थिक कारोवारसम्बन्धि निर्देशिका, ०६०ले परिवारका सदस्य आएको र फर्केको विवरण राख्ने तथा नियोग प्रमुखबाट प्रमाणित गराएर मन्त्रालय पठाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

२४ नियोगका कर्मचारीको मासिक तलव –भत्ता भुक्तानी गर्दा परिवार साथमा रहेको व्यहोरा पुष्टि गर्ने आधारबिना ५ करोड आठ लाख १९ हजार रुपैयाँ पारिवारिक भत्ता बाँडिएको महालेखाले जनाएको छ । यी मध्ये ८ दुतावास तथा नियोगले परिवार साथमा नलगे पनि मन्त्री तथा सचिवको पटके निर्णयका आधारमा पारिवारिक भत्तास्वरुप एक करोड ८१ लाख २१ हजार भुक्तानी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us