
काठमाण्डु, २ वैशाख – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले मन्त्रिपरिषद् वा अन्य बैठकमा सहभागी हुँदा चिया खाजामा खर्च गर्न नपाउने भएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले सरकारी खर्चमा मितव्ययिता अपनाउन मन्त्रिपरिषद्का सदस्यसित आग्रह गरेपछि सो निर्णय भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिँदै भने “प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यसित गर्ने बैठक, छलफल तथा मन्त्रिपरिषद्को बैठकमा अब खाजामा खर्च हुँदैन ।”
मन्त्रिपरिषद बैठकमा चिया- खाजा नखाँदा मात्र राज्यकाेषकाे वार्षिक आठदेखि १० करोडसम्म बचत हुनेछ । “बिहान हुने छलफल र बैठकमा निवासबाट चिया तथा नास्ता खाएर आउनुहोस्, अपराह्न तथा साँझमा हुने बैठकमा चिया र बिस्कुट उपलब्ध हुन्छ, प्रधानमन्त्री कोइरालाकाे भनाइ उद्धृत गर्दै उपप्रधानमन्त्री गौतमले भने ।
यसको कार्यान्वयन भइसकेको जानकारी दिँदै उपप्रधानमन्त्री गौतमले मन्त्रालयको खाजा खर्चमा पनि मितव्ययिता ल्याउन सुरुवात भइसकेको बताए ।