
चितवन, २ वैशाख – एकीकृत माओवदी कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको चौबिसकोठीमा चक्काजाम गरेका छन् ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेका ११ कार्यकर्ता रिहाइको माग गर्दै माओवादी कार्यकर्ताले मंगलबार दुईदेखि तीन बजेसम्म एक घण्टा चक्काजाम गरेका हुन् ।
चक्काजामका कारण पूर्वपश्चिम राजमार्गसहित सहायक मार्गमा यातायातका साधन चल्न सकेनन् । अधिकारी हत्या आरोपमा पक्राउ परेका छविलाल पौडेल र भिमसेन पौडेललाई साबिती बयानका लागि अदालत लैजाँदै गर्दा माओवादी कार्यकर्ताले चक्काजाम गरेका हुन् ।
माओवादीले सशस्त्र द्वन्द्वका घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएका कार्यकर्ता रिहाइको माग गर्दै देशव्यापी आन्दोलन घोषणा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले अधिकारी हत्यामा संलग्न रहेको आरोपमा १३ माओवादी कार्यकर्ताविरुद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएपछि माओवादीले सरकारविरुद्ध सडक र सदन दुवैतिरबाट आन्दोलन गर्ने घोषणा गरेको हो ।