
काठमाण्डू, २ वैशाख संयुक्त राज्य अमेरिकाको सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा आज एक कार्यक्रमका बीच मुलुककै सुविधा सम्पन्न रक्तसञ्चार केन्द्रको उद्घाटन गरिएको छ ।
करिब पाँच करोडको भवन निर्माण लागत र दुई करोडको उपकरणसहित एक वर्षमा निर्माण गरिएको रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले थप रक्तसञ्चार केन्द्रको स्थापनाले मुलुककै ठूलो शिक्षण अस्पतालमा बिरामीले राहत पाउने बताए ।
अस्पताल परिसरमै सुविधा सम्पन्न रक्तसञ्चार केन्द्र निर्माण हुनुले अब बिरामीले तुरुन्तै रगत ल्याउन टाढा जानुपर्ने समस्याबाट मुक्ति पाएका छन् भन्दै मन्त्री अधिकारीले बिरामीलाई सहज र सुलभ रुपमा रगत प्रदान गर्न सरकारले चाँडै रक्तसञ्चार नीति ल्याउन लागेको जानकारी समेत दिए ।
उद्घाटन कार्यक्रममा अमेरिकी राजदूत पिटर डब्लु बोडेले रक्तसञ्चार केन्द्र भूकम्प प्रतिरोधक भएकाले यसले विपत्तिको बेलामा पनि सहज रुपमा सेवा प्रदान गर्ने बताए ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक ईश्वर लोहनी, डिन राकेश श्रीवास्तव र सूचना प्रविधिका निर्देशक प्रदीप वैद्यले अब यस अस्पतालमा बिरामीले रगतको अभाव भोग्नु नपर्ने र चाहिएको बेलामा पूर्ति हुने दाबी गरे ।