
काठमाण्डु, २२ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गजेन्द्रबहादुर महतले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारका महत्वकांक्षी योजनाहरुप्रति खरो टिप्पणी गरेका छन् । आइतबार सरकारको नीति तथा कार्यक्रममाथि संसद्को छलफलमा भाग लिँदै नेता महतले पानी जहाज, रेललगायतका सरकारका महत्वकांक्षी योजनाप्रति खरो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज र रेलका सपना देखाइरहँदा कर्णालीबासी खच्चर र ट्रयाक्टरलाई फूलमालाले स्वागत गरिरहेको यथार्थ चित्रण गर्दै उनले सरकारको नीति तथा कार्यक्रममा कर्णाली क्षेत्र नसमेटिएको भन्दै घुमाउरो पारामा आपत्ति जनाए ।
‘हामीहरु सिटामोल खोजिरहेका हुन्छौं तपाईंहरु जनसंख्याका आधारमा बजेट चाहियो भन्नुहुन्छ । हामीलाई सिटामोल बाँड्ने अहेव चाहियो भन्छौं तपाईंहरुलाई अब डाक्टर पढाउने ठाउँ धेरै भइसके भनेर पढाउने कलेज हटाउन लागिरहुनुभएको छ,’ महतले भने, ‘हामी कर्णालीका मान्छेहरुलाई खच्चडलाई माला लगाउँदै, ट्रयाक्टरलाई माला लगाउँदै ठिक्क छ । तपाईहरु नीति तथा कार्यक्रममा पानीजहाजको कुरा गर्दैहुनुहुन्छ । रेलको कुरा गर्दै हुनुहुन्छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलेदखि लिएर अरु अन्तर्रा्ष्ट्रिय विमानस्थल खोजी गर्दै हुनुहुन्छ ।’
नीति तथा कार्यक्रममा कर्णालीलाई स्थान नदिइएको उनको भनाइ थियो । ‘यो नीति तथा कार्यक्रममा कर्णालीलाई ध्यान दिन अपुग भइराख्या छ । विगतबाटै कर्णालीलाई हेर्ने दृष्टिकोणमै गलत बुझाई छ,’ उनले भने, ‘सरकार चलाइरहेकाहरुमा हिजोका दिनबाटै आफूले खुबै राम्रोसँग देश चलाइरहेको भान परेको हुन्छ ।’