
एजेन्सी–१५ असार– अमेरिकाले सुडानमाथि कडा प्रतिबन्ध घोषणा गरेको छ ।
गृहयुद्धमा रासायनिक हतियार प्रयोग गरेको गम्भीर आरोपसँगै अमेरिकी सरकारले सुडानमा हुने हातहतियार बिक्री, निर्यात तथा सरकारी आर्थिक सहायता रोक्ने निर्णय लिएको हो ।
अमेरिकी संघीय रजिस्टरमा हालै प्रकाशित निर्णयअनुसार यी प्रतिबन्धहरू कम्तीमा एक वर्ष लागू रहनेछन् ।
यसअघि सन् २०२४ को जनवरीमा सुडानी सेनाले अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) विरुद्धको द्वन्द्वमा क्लोरिन ग्याँसजस्तो रासायनिक हतियार प्रयोग गरेको दाबी गरिएको थियो ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले दुर्गम क्षेत्रमा यस्ता हतियार प्रयोग गरिएको र यसले गम्भीर स्वासप्रश्वास समस्या उत्पन्न गराएको जनाएको छ । क्लोरिनजस्ता ग्याँसहरूले मानव शरीरमा गहिरो असर पार्ने र मृत्युसम्म पुर्याउन सक्ने भएकाले अमेरिकाले यसलाई युद्ध अपराधको रूपमा लिएको हो ।
हालको प्रतिबन्ध अन्तर्गत, खाद्यान्न, औषधोपचार र मानवीय सहायता भने रोकिएको छैन । तर अन्य सबै प्रकारका व्यापारिक र सुरक्षा सहयोगहरू निलम्बनमा राखिनेछन् । अमेरिकी सरकारको भनाइमा अमेरिकाको राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने केही विशेष परिस्थितिमा मात्र सीमित छूट दिइनेछ ।
सुडानी सरकारले भने अमेरिकी आरोप अस्वीकार गर्दै त्यसलाई आधारहीन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको प्रतिक्रिया दिएको छ । खार्तूमले आफूले कुनै पनि प्रकारको रासायनिक हतियार प्रयोग नगरेको दाबी गर्दै आएको छ। यद्यपि अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार संस्थाहरूले उक्त घटनाको थप छानबिन गर्नुपर्ने माग गरिरहेका छन् ।
सन् २०२३ अप्रिलबाट सुरु सुडानको गृहयुद्धमा हालसम्म हजारौँको ज्यान गइसकेको छ । लाखौँ मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले यस द्वन्द्वलाई विश्वकै सबैभन्दा जटिल मानवीय संकटहरूमध्ये एक मान्दै आएको छ । अनुमान अनुसार, अहिलेसम्म झण्डै १३ मिलियन सुडानीहरू आन्तरिक रूपमा विस्थापित भएका छन् ।
अमेरिकी प्रतिबन्धले सुडानमाथि अन्तर्राष्ट्रिय दबाब अझै बढाउने ठानिएको छ । रासायनिक हतियारको प्रयोग सम्बन्धी मुद्दामा सुडान विश्वव्यापी निगरानीको केन्द्रमा परेको छ र आगामी दिनमा यसले कूटनीतिक सम्बन्ध र मानवीय प्रयासमा के कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको समाचारहरुमा उल्लेख छ ।