
काठमाण्डू, १५ असार– सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन ।
मृत्यु हुनेमा रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र सुनसरीको इनरुवा नगरपालिका–६ का अन्दाजी ५० वर्षीय विन्दु यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
सुनसरीको चतरा–कान्छी चोक भित्री सडक खण्डस्थित रामधुनी नगरपालिका–७ बासबिटीमा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साँझ करिब साढे ७ बजे भएको दुर्घटनामा परी ५८६४ नम्बरको मोटरसाइकलका चालक चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र ९६०५ नम्बरको मोटरसाइकलका चालक विन्दु यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनीहरुको शनिबार राति नै मृत्यु भएको हो ।
दुर्घटनामा रामधुनी–६ की ३२ वर्षीय प्रतीक्षा चौधरी र इनरुवा–७ का अन्दाजी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार घाइते प्रतीक्षा मृतक इनर्चन चौधरीकी पत्नी हुन् । दुवै मोटरसाइकल तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।