कहाँकहाँ हुँदैछ भारी वर्षा ?, १२ जिल्लामा ‘अलर्ट’ जारी

काठमाण्डु टुडे २०८२ असार १५ गते ८:४४ मा प्रकाशित

काठमाण्डू, १५ असार– आगामी केही दिन नेपालका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा र ती क्षेत्रमा विकसित न्यून चापीय प्रणालीका कारण देशको मौसमी प्रणालीमा स्पष्ट प्रभाव परेको विभागको भनाइ छ । यसले गर्दा देशका केही भागमा अत्यधिक वर्षा हुने सम्भावना बढेको हो ।

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमका आधारमा १२ जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ ।

लुम्बिनी प्रदेशमा बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशमा सुर्खेत, सल्यान र दैलेख, तथा सुदूरपश्चिम प्रदेशमा बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्ला प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

यस्तै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने प्रक्षेपण विभागले गरेको छ ।
ग विभागले विशेष गरी पहाडी र तराई भू–भागका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us