बाइसधारा मेला

काठमाण्डु टुडे २०७१ वैशाख २ गते ८:१९ मा प्रकाशित

काठमाण्डू, २ वैशाख – चैत शुक्ल पूर्णिमाका दिन आज मंगलबार बालाजुको बाइसधारामा ‘बाइसधारा मेला’ लागेको छ ।

सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन् ।

बालाजु पार्क क्षेत्रमा तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको बाइसधारामा नागार्जुनको डाँडाबाट पानी आउने गर्दछ । सो पवित्र पानीले आजको दिन स्नान गरेमा कुनै पनि रोग व्याधि नलाग्ने विश्वास गरिन्छ ।

बालाजुस्थित बाइसधारा मेला व्यवस्थापन मूल समारोह समितिले सो स्थानमा स्नान गर्न आउने भक्तजनको सहजताका लागि निःशुल्क स्वास्थ्य शिविर, स्वयम्सेवक परिचालन तथा सुरक्षा व्यवस्थाको प्रबन्ध गरेको छ ।

काठमाडौँमा बढ्दै गरेको जनघनत्व तथा सो आसपास क्षेत्रमा पानीको अभाव बढ्दै गएपछि अहिले बाइसधारामध्ये एक धाराबाट मात्र पानी आउने गरेको छ ।

तर आज मेलाको दिन भने सबै धारबाट पानी आउने व्यवस्था मिलाइएको समितिका सदस्य भक्त गुरुङ्ले बताए ।

सत्ययुगमा ९१ कल्प वर्षअघि विपस्सी बुद्ध बन्धुमतीनगरबाट नागदहमा आएर कमलको फूल रोपेको जनविश्वास रहेको छ । त्यसैको सम्झनामा आजको दिन भक्तजनहरूले बाइसधारामा स्नान गरी जामाचुस्थित प्राचीन बौद्ध चैत्यमा पानी लगेर चढाउने परम्परा रहेको उनले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us