सिरुवा पर्व धुमधामका साथ सुरु

काठमाण्डु टुडे २०७१ वैशाख २ गते ८:१७ मा प्रकाशित

भद्रपुर, २ वैशाख – नयाँ वर्षको खुसियालीसँगै तराईका जिल्लाहरूमा एकापसमा हिलो खेल्ने पर्व सिरुवा तथा जुडशीतल पर्व बडो धूमधामका साथ झापालगायत तराईका जिल्लामा बिहानैदेखि सुरु भएको छ ।

किसानले यतिबेला नयाँ फसलको रुपमा गहुँका साथै अन्य फसल घरमा भित्र्याउने गरेकाले यस पर्वलाई वैशाखी पर्व पनि भन्ने गरिन्छ ।

यो पर्व मैथिल समुदायका साथै थारु, राजवंशी, गनगाईलगायत तराईका अन्य आदिवासी जनजातिले पनि आ–आफ्ना संस्कृतिअनुरुप मनाउने गर्दछन् ।

सोअन्तर्गत घरका अग्रजले देउतासमक्ष घडामा राखिएको जल लिई परिवारका प्रत्येक सदस्यको अञ्जुलीको माध्यमबाट टाउकोमाथि जल राखी मङ्गलमयको कामनाका साथै वर्षभरि रिस नगर्नु र सोचेर काम गर्नु भनेर आशिष दिने परम्परा रहेको छ । यसपर्वको पहिलो दिन अर्थात् वैशाख १ गतेका दिन सातु खाने चलन पनि छ ।

यसका साथै बिहानैदेखि आ–आफ्ना खेतबारीमा रहेका रुखका जरामा पानी दिने, बाटोघाटोमा पानी छर्केर भिजाउनुका साथै इनार, पोखरी सफा गरी एक अर्कामाथि हिलो दलेर सिरुवा पर्व मनाइने गरिन्छ ।

यस पर्वमा देवीदेउतालाई भात, आँपको चिचिलाको चटनी, दही, केरा र मिठाई चढाउने गरिन्छ । यो पर्वमा मात्रै देवीदेउतालाई भात चढाइन्छ ।

बिहान खाना पकाएर चुल्होको पूजा गर्ने गरिएकाले बेलुकी खाना पकाइँदैन । कम्तीमा एक छाकका लागि चुल्होलाई आराम दिने नियम रहिआएको छ । दिनको समयमा पकाइएको खाना खाने चलन छ ।

यस पर्वको उपलक्ष्यमा मैथिल समुदायले आँगनको तुलसीको बोटको वरपर दुइवटा बाँसको लठ्ठी गाड्छन् । त्यसपछि तुलसीको माथिको भागमा गाग्रो झुन्ड्याइन्छ । उक्त गाग्रोमुनिको भागमा सानो प्वाल पारेर कुश छिराएको हुन्छ । त्यसपछि विधिपूर्वक गाग्रोमा पानी भरिएपछि तुलसीको बोटमाथि कुशको माध्यमले थोपाथोपा जल चुहिँदै रहन्छ । यो प्रक्रिया सिरुवापर्वको दिन सुरु भई एक महिनासम्म नियमितरूपमा चल्ने गर्छ ।

थारु समुदायमा पनि यो पर्व बडो आस्थाका साथ मनाइन्छ । एकापसमा हिलो खेल्ने, रङ्ग खेल्ने र बाटोघाटो इनार सफाका साथै नाचगान गरेर उनीहरु यो पर्व मनाउने गर्दछन् ।

राजवंशी समुदायले पनि मैथिल, थारु समुदायजस्तै गरी यो पर्व मनाउँछन् । सिरुवा पर्वका दिन अनिवार्य रूपले मासुभात खाने चलन रहेको र भोलि रङ्ग खेल्ने नियम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us