नेकपालाई क्यान्सरको भाइरसले कच्याककुचुक पारिदियाेः घनश्याम भुसाल

काठमाण्डु टुडे २०७६ वैशाख २० गते १४:१० मा प्रकाशित

काठमाण्डु, २० वैशाख – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको अवस्था कम्पनी र क्लबको भन्दा दयनीय भएको बताएका छन् ।

काठमाण्डुमा पत्रकारहरुसँगको एक अन्तरक्रियामा बोल्दै नेता भुसालले सिद्धान्त र व्यवहारबीच पार्टीमा इतिहासमै धेरै विरोधाभाष देखिएको बताए ।

‘नेकपा क्लब भन्दा कमजोर ‘नेकपा अहिले न त कम्पनी, न त क्लब जस्तो छ । क्लबको पनि अनुशासन हुन्छ, कम्पनीको पनि ऐन नियम हुन्छ’, उनले भने, ‘यो के भाको छ के भाको हो ? क्लबमा बैठक बस्छ तर पार्टीमा त न बैठक बस्छ, न त सैद्धान्तिक छलफल नै हुन्छ ।’

भुसालले पार्टीलाई गुटको गतिविधिले विरामी नै पारेको बताए । ‘पार्टीको संगठनमा मान्छे नै गुटबाट आउँछ । मान्छेको मूल्याङ्कन नै गुटले गर्छ । गुटले मान्छेको हैसियतको निर्धारण गर्छ’, उनले भने, ‘पार्टी भित्र मान्छेको मूल्याङ्कन खकार, थुक र रगतबाट गर्नुहुँदैछ भनेर स्थायी कमिटीमै मैले अध्यक्षलाई भनेको हुँ ।’

अहिले नेपालका पार्टीहरुलाई दलाल पूँजीवादको क्यान्सरले पुरै गाँजेको उनको भनाइ छ । ‘दलाल पुँजीबादको क्यान्सरले नेकपासहित पार्टीहरुलाई नराम्ररी गाँज्यो । फस्र्टस्टेजको होइन, सेकेन्ड वा थर्डस्टेजको जस्तो दलाल पुँजीवादको क्यान्सरले भित्रैसम्म गाँजेको छ,’ उनले भने, ‘त्यो क्यान्सरको भाइरसले पार्टीहरूमा सिद्धान्तको भूमिका कच्याककुचुक पारिदिएको छ । पूँजीवादले सिद्धान्त खाइसकेको छ । सिद्धान्त खाइदिएपछि नेता कार्यकर्ताको राजनीति खाइदिन्छ ।’

नेता भुसाल पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा देशको अवस्था सम्झिँदा छाती पिटी चिच्याउँ जस्तो भएको कडा प्रतिक्रिया दिए ।

‘दिवंगत भइसक्नु भएका हाम्रा नेता प्रचण्डबहादुर बुढाथोकीले भने जस्तो, ‘हेर देशको हालत कस्तो छ, छाती पिटी चिच्याउनु जस्तो छ’, भुसालले थपे, ‘अहिलेको ऐठनको ‘एक्सप्रेसन’ त्यहाँ मात्रै प्रष्फुटन हुन्थ्यो । यस्तो अकल्पनीय अवस्थामा सिद्धान्तको मूल जरो नै काटिएको छ ।’

सिद्धान्तको च्याप्टर क्लोज भुसालले अहिले एकै ठाउँ रहेका नेकपा माओवादी केन्द्र र नेकपा एमालेले सिद्धान्तको ‘च्याप्टर क्लोज’ नै गरेको गुनासो गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us