
काठमाण्डु, २ बैशाख –अखिल नेपाल शिक्षक संघले अस्थायी शिक्षक संघर्ष समितिका महासचिव दिनेश थापा लगायतका ८ जना शिक्षकलाई तत्काल रिहा गर्न माग गरेको छ ।
अध्यक्ष नरेन्द्र बहादुर थापाले विज्ञप्ति निकालेर थापा लगायतका शिक्षकलाई रिहा नगरी मुद्दा लगाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ‘गिरफ्तार गरिएका शिक्षकलाई बिना सर्त रिहा गरियोस् ।
मुद्दा लगाउने दुस्साहस गरिएमा हामी नेपाली शिक्षकहरू कडा आन्दोलनमा उत्रन बाध्य हुने कुरा अवगत गराउँछौं ।’ अखिल नेपाल शिक्षक संघले चेतावनी दिँदै भनेको छ –उक्त आन्दोलनबाट पर्न जाने शैक्षिक क्षतिको जिम्मेवारी स्वयं सरकार हुनुपर्नेछ ।’ अस्थायी शिक्षकलाई स्थायी गर्न र संशोधित शिक्षा ऐन लागू माग गर्दै संसद भित्रै प्रवेश गरेर नाराबाजी गरेपछि सरकारले थापा लगायतका शिक्षकलाई चैत २६ गते पक्राउ गरेको छ ।
महिनौंसम्म अनशन बस्दा समेत सरकारले सुनुवाई नगरेपछि बाध्य भएर सरकार र संसदलाई सुनाउन नाराबाजी गर्नु परेको अस्थायी शिक्षक संघर्ष समितिले जनाएको छ । संसदको दर्शक दीर्घामा प्रवेश गरी नारा लगाउनु गलत भन्दै सरकारले ती शिक्षकलाई मुद्दा लगाउने तयारी सहित थुनामा राखेको छ ।
अखिल नेपाल शिक्षक संघले समस्या समाधानका लागि २०६९ पौष १९ अर्थात् खुल्ला विज्ञापन गरिनु पूर्वका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नका लागि तत्काल कानुनी प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।
शिक्षक पक्राउ परेको विषयमा भने अरु शिक्षक संघ संस्था भने मौन छन् ।