देशभरिको ठेगाना सजिलै पत्ता लगाउन सकिने ‘ठेगाना’ एप सार्वजनिक

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते १०:२९ मा प्रकाशित

काठमाण्डु, १७ बैशाख – आफूलाई आवश्यक परेको ठेगाना सजिलै पत्ता लगाउन मिल्ने मोवाइल एप ठेगाना सर्भिसेजले सार्वजनिक गरेको छ । सर्भिसेजले सार्वजनिक गरेको एप ‘ठेगाना’ मार्फत देशभरिको ठेगाना पत्ता लगाउन सकिन्छ ।

सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले यो एप व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा प्रयोग गर्न सकिने बताए । डेलिभरी सेवा प्राप्त गर्न, आपतकालीन सुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गर्न, पैदल वा सवारी साधनबाट एक ठाउँबाट अर्को स्थानमा पुग्न सहज डिजिटल सुविधा प्राप्त हुने उनको भनाइ छ । केसी भन्छन्, ‘प्राकृतिक प्रकोपको बेला सजिलै राहत पुर्‍याउन पनि यो एप उपयोगी हुनसक्छ ।’

ठेगाना एप ‘रि–इन्जिनियरिङ’ गरिएको यस्तो ठेगाना प्रणाली हो जसमा नेपालका विभिन्न स्थानलाई ८५ करोड इकाईमा विभाजन गरिएको हुन्छ । र, हरेक इकाई पहिचान गर्न विशिष्ट कोड दिइएको हुन्छ ।

ठेगानाको कोडमा ९ वटा अंक वा अक्षर दिइएको हुन्छ । पहिलो तीन डिजिटले सम्बन्धित जिल्ला जनाउँदछ भने बाँकी ६ डिजिटले तोकिएको स्थान । उदाहरणका लागि, गोश्वारा हुलाक सुन्धारा, काठमाण्डुको ठेगाना बुझाउन ‘ठेगाना एप’ ले KTM-P82746 देखाउँदछ । यसमा KTM ले काठमाण्डु जिल्ला र बाँकीले गोश्वारा हुलाकको विद्युतीय ठेगाना भन्ने जनाउँदछ ।

ठेगाना एपमा दर्ता गरिएपछि पछिल्ला ६ वटा नम्बर आफ्नो रुचिबमोजिम पनि राख्न सकिन्छ । यो डिजिटल एपमार्फत आफ्नो ठेगाना सम्झन र वितरण गर्न मोबाइल नम्बर याद गरे जत्तिकै सहज हुने सञ्चालकको दाबी छ ।

‘ठेगाना’ एप निःशुल्क डाउनलोड गर्न सकिन्छ । तत्काललाई एन्ड्रोइड अपरेटिङ् सिस्टममा चलाउन सकिन्छ । आइओएस प्रयोगकर्ताका लागि पनि केही हप्ताभित्रै यो सुविधा उपलब्ध हुने सञ्चालकले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us