
काभ्रे, १५ वैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन् ।
काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिए ।
‘एयरपोर्टका लागि बनेपाको नागीडाँडा उपयुक्त नभए धुलिखेलमा बन्छ, हामीले अनुगमन गरिसकेका छौँ, यस विषयमा सरकार ब्याक भएको छैन’, उनले भने ।
काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणबारे एक चिनियाँ कम्पनीले चासो दिइरहेको पनि उनले बताए ।
‘डोमेष्टिक एयरपोर्ट बनाउने विषयमा चिनियाँ लगानीकर्तासँग कुरा भइरहेको छ,’ मन्त्री बाँस्कोटाले भने, ‘ अन्तर्राष्ट्रिय विमानस्थलमा होल्डिङको अवस्था कम गर्न एयर डाइभर्टेशन र होल्डिङका लागि हामीले कस्तो खालको एयरपोर्ट बनाउने भन्नेबारे आन्तरिक छलफल गरिरहेका छौँ ।’
आन्तरिक विमानस्थलका लागि एकवर्ष अघि बनेपाको नागीडाँडा र धुलिखेलको देवीस्थान र चिसापानी ठूलीचौरको जमीन निरीक्षण गरिएको थियो ।
‘आवश्यकताले पनि विकास निम्त्याउने हो, यसका लागि सरकार तयार छ,’ मन्त्री बाँस्कोटाले भने । रासस