
काठमाण्डु, ३० चैत – विगतमा भएको सहमति राज्य पक्षले पालना नगरेको भन्दै आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ ।
आदिवासि जनजाति सम्वद्ध विभिन्न संघसंस्थाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । वैशाख ७ गते प्रधानमन्त्री र संविधानसभा अध्यक्षलाई ज्ञापनपत्र बुझाउने, जेठ १० गते प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाउने, जेठ १० गतै नै मोटरसाइकल र्याली गर्ने, जेठ १२ र १३ गते प्रचारात्मक कार्यक्रम गरी जेठ १४ गते बृहत सभा गर्ने कार्यक्रम तय गरिएको छ ।
आदिवासि जनजाति अवुगाहरुले विगतमा भएका सहमति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । माग पूरा नभए अर्को चरणमा थप सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुको छ ।
पत्रकार सम्मेलनमा बोल्दै आदिवासि जनजाति अगुवा मल्ल के सुन्दरले जातीय पहिचानका आधारमा संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धी खोस्ने प्रयास भएकाले त्यसलाई रोक्न आन्दोलनमा उत्रनुपरेको बताए ।