उच्चस्तरीय समिति गठनको सहमतिबाट किन पछि हटे काँग्रेस–एमाले ?

काठमाण्डु टुडे २०७० चैत ३० गते ११:५५ मा प्रकाशित

काठमाण्डु, ३० चैत– सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले उच्चस्तरीय राजनीतिक समिति गठनको विपक्षमा देखिएका छन् ।
sushil koirala-jn khanalसंवैधानिक राजनीतिक समितिको सभापतिमा सहमति खोज्न आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा काँग्रेस–एमाले त्यसको विपक्षमा उभिएका हुन् ।

प्रमुख दलबीच गत पुस ९ गते शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न तथा संविधान लेखनमा सहयोग पुर्‍याउन तीन दलका शीर्ष नेता रहने गरी उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने लिखित सहमति भएको थियो ।

दलहरुबीच सैद्धान्तिक सहमति भए पनि नेतृत्व कसले गर्ने भन्ने विवादका कारण समिति गठनमा ढिलाइ भएको हो । स्रोतका अनुसार बैठकमा काँग्रेस–एमालेले संवैधानिक राजनीतिक संवाद समितिलाई नै उच्चस्तरीय समितिको समेत जिम्मेवारी दिने तर छुट्टै राजनीतिक समिति गठन गर्न नसकिने बताएका थिए ।

के भन्छ माओवादी ?
यसैबीच एकीकृत माओवादीले भने काँग्रेस–एमाले पूर्वसहमतिबाट पछि हटेको भन्दै यसले संविधान लेखन प्रक्रियामा अप्ठेरो ल्याउन सक्ने बताएको छ । उसले सहमति तोडेर ती दुई दल संविधान नबनाउने दिशामा गएको आरोप समेत लगाएको छ ।

‘पूर्वसहमतिबाट पछि हटेर काँग्रेस–एमाले संविधान नबनाउने दिशातिर गएका छन्’, माओवादी नेता अग्नि सापकोटाले काठमाण्डु टुडेसँग भने, ‘उनीहरुको यस्तो अराजनीतिक व्यवहारले संविधान लेखन र शान्ति प्रक्रिया अप्ठेरोमा पर्न सक्छ ।’

भएको सहमतिबाट पछि हटेर काँग्रेस–एमोलेले आफ्नै राजनीतिक नैतिकता र इमान्दिारितामा प्रश्न उठाउने ठाउँ दिएको टिप्पणी उनको छ । सापकोटाले भएको सहमतिबाट पछि हट्नेहरुबाट नयाँ सहमतिको आशा गर्न नसकिने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us