स्थानीय स्रोतको प्रयोगबाट गाउँगाउँमा उद्यम

काठमाण्डु टुडे २०७० चैत २९ गते ११:०० मा प्रकाशित

पर्वत, २९ चैत – धन कमाउन विदेशमै जानुपर्छ भन्ने छैन । आफ्नै गाउँपाखामा खेर गइरहेको स्थानीय स्रोतलाई उपयोग गरेर पनि कतिपयले आम्दानी गर्न सफल भएका छन् ।

पर्वतको उत्तरी गाविस क्याङ, सालिजादेखि दक्षिणका त्रिवेणी, वहाकी बर्राचौरसम्मका मानिसले व्यावसायिकरूपमा उद्यम सञ्चालन गर्न थलेका हुन् । उनीहरुले वनमा पाइने अल्लो, सिस्नो र काउलो प्रयोग गरी उद्यम सञ्चालन गर्न थालेका छन् ।

पर्वतको उत्तरमा पर्ने क्याङका प्रायः युवा विदेशमा रहेपनि महिलाहरू भने गाउँमै बसेर अल्लोबाट धागो बनाइरहेका छन् । धागोबाट बनेका बहुमूल्य कपडाहरु विदेशमा पुगेका छन् ।

गाउँमा समूह बनाएर बचत गर्ने अनि समूहमा काम गर्ने गरेको उनीहरू बताउँछन् । ‘पहिले घरधन्दामै दिनचर्या बित्थ्यो, अहिले अल्लोको धागो बनाउन थालेका छौँ’ स्थानीय सुमिता गर्बुजाले भनिन्, ‘आफ्नै जङ्गलमा पाइने अल्लोको महत्व नबुझ्दा प्रयोगमा ल्याउन सकिएको थिएन ।’

लघु उद्यम विकास कार्यक्रमको सहयोगमा उनले अल्लोको धागो बनाउने दुईमहिने तालिम लिएकी छन् । उनलाई धागो बनाउने मेसिन खरिद गर्न पनि कार्यक्रमले केही सहयोग गरिदिएपछि व्यावसायिक रूपमा अगाडि बढ्न सजिलो भएको उनी बताउँछिन् ।

सालिजामा लघु उद्यम विकास कार्यक्रमकै सहयोगमा अल्लोको कपडा बुनेर अघि बढेकी जसमायाले विभिन्न पुरस्कारहरु प्राप्त गर्न सफल भइन् ।

उनी जङ्गलमा कुहिएको अल्लोबाट राम्रो आम्दानी गर्न सकिने बताउँछिन् । अल्लोका कपडाको माग विदेशमा समेत भएकाले गुणस्तर र मिहेनत भएमा धन कमाउन विदेश चाहर्न नपर्ने धारणा राख्छिन् । ‘स्थानीय स्रोतलाई उपयोग गरेर धेरै गर्न सकिन्छ’ उनले भनिन् ‘आत्मनिर्भर बन्न मिहेनत र लगनशीलता चाहिन्छ ।’

उनीहरु मात्रै होइन, दक्षिणको बर्राचौरमा २१ वर्षीय युवा विक्रम धमेलले कुखुरापालन व्यवसाय सुरु गरेका छन् । उनले पोल्ट्री फार्मिङसम्बन्धी तालिम लिएर व्यवसाय सुरु गरेका हुन् । ‘अहिले १०० कुखुराबाट सुरु गरेको छु’ उनले भने, ‘भविष्यमा विस्तार गर्दै जाने सोचमा छु ।’

अहिलेका प्रायः युवा विदेश गएर पैसा कमाउने सपना देख्छन् । तर स्थानीय स्रोत साधनको प्रयोगमार्फत गाउँमै बसेर विदेशकै जति आम्दानी गर्न सकिने जिल्ला लघु उद्यमी संघ पर्वतकी कार्यक्रम संयोजक सीता शर्माले बताउँछिन् ।

नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संस्थाको पहलमा गाउँमै परम्परागत पेसालाई व्यावसायिक रूपमा अगाडि बढाउने सोच अहिले केही युवामा विकास हुँदैछ । ‘धेरै मानिसमा तत्कालै प्रतिफल खोज्ने समस्या देखिन्छ,’ उनले भनिन्, ‘यो विदेसिने र जागिर खाने सोचले ल्याएको समस्या हो ।’ आफ्नै ठाउँमा दीर्घकालीन सोचका साथ व्यवसाय गर्नुपर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us