
काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्दिन्छु भनेर कोही बुढाबुढीका नजिक गए लौरो खाइने भन्दै सरकारविरोधीलाई कटाक्ष गरेका छन् । आइतवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले राम्रो गरिरहेको भन्दै सरकार विरोधीहरू बुढाबुढी नजिक गए लौरो खाने र केटाकेटी नजिक गए ढुङ्गो खाने अभिव्यक्ति दिएका हुन् ।
‘यो सरकार ढाल्दिन्छौँ भनेर बुढाबुढीको नजिक गएर नभन्नुहोला, लौरो खानुहोला,’ प्रधानमन्त्री ओलीले भने, ‘केटाकेटीको अगाडि गएर सरकार ढाल्दिन्छु नभन्नु होला, उनीहरूले ढुंगा टिपेर हान्लान् ।’
प्रधानमन्त्री ओलीले आफ्नै शासनकालमा नेपालमा सबैको ज्यानको सुरक्षा, अधिकारको सुरक्षा, अवसरको सुरक्षा र स्वतन्त्रताको सुरक्षा कायम गर्ने बताए ।
‘नेपाल केही वर्षमा स्वस्थ नेपाल बन्नेछ, निरोगी नेपाल बन्नेछ,’ प्रधानमन्त्रीले भने, ‘हामीले नेपाललाई सम्पूर्ण रूपमा सुरक्षित बनाउने अभियान शुरू गरेका छौं । यो सरकार सम्पूर्ण नेपालीको सरकार हो, सरकारले सबैलाई समान अधिकार र अवसर उपलब्ध गराउनेछ ।’