
कावासोती, २८ चैत – एकीकृत नेकपा (माओवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको नयाँ शक्ति भनेको आर्थिक विकासका लागि मोडेल हुने बताएका छन् ।
नवलपरासीमा आज चौधरी ग्रुपको अवलोकन पछि पत्रकारसँगको भेटमा उनले सो कुरा बताएका हुन् । एउटै औद्योगिक घरानाले त यत्ति धेरै गर्न सक्छ, राज्य नै लाग्यो भने कति धेरै हुन्छ उनले भने, “अबको क्रान्ति आर्थिक विकासकै हो ।”
आर्थिक र राजनीतिक क्रान्ति एक अर्काका पुरक भएको बताउँदै उनले अबको केही वर्ष आर्थिक क्रान्तिमा लगाउनुपर्ने धारणा राखे ।
आलु चिप्स, बियरका लागि यही कच्चा पदार्थ उत्पादन गर्न राज्यले नीतिगत रूपमै सुनिश्चित गर्नुपर्छ डा भट्टाराईले भने –“कृषि उत्पादन बढाउन सरकारले अनुदान दिनै पर्छ त्यसका लागि नीति ल्याउनुपर्छ” ।
सरकारले निजी क्षेत्रलाई सहयोग गर्न आवश्यक छ भन्दै उनले चौधरी उद्योगको विकासको मोडेल र उत्पादन मोडेललाई सरकारले बढवा दिन आवश्यक रहेको बताए ।
पत्रकारसँगको भेटमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आर्थिक पक्षको लाभ र हानीका आधारमा राजनीति हुनुपर्ने धारणा राखे ।