
काठमाण्डु, २८ चैत– नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई अनुशासनविपरीत काम गरेको आरोपमा कारबाहीको तयारी गरेको छ ।
क्यान कार्यसम्पादन समितिको गएराति बसेको बैठकले कारबाहीका लागि बोर्डसमक्ष सिफारिस गरेको हो ।
केही दिनभित्रै बोर्ड बैठक बसेर आवश्यक कारबाही गर्ने क्यान उपाध्यक्ष विकास घिमिरेले काठमाण्डु टुडेलाई जानकारी दिए ।
हिजो राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीले जारी लिगसगै सबै प्रतियोगिता बहिस्कार गर्ने घोषणा गरेका थिए । खेलाडीले क्यानको नेतृत्व र पदाधिकारी परिवर्तन नभएसम्म कुनै पनि राष्ट्रिय र अन्तर्राष्टिय प्रतियोगिता नखेल्ने बताएका थिए ।
क्यानलने खेलाडीले अनुबन्ध हुनुअघि नै क्यानविरुद्ध नबोल्ने लिखित प्रतिक्रिया जनाइसकेको भन्दै बारकबाही हुने बताएको छ । ‘खेलाडीले जे गरेका छन्, त्यो सरासर गलत छ, खेलाडी भएपछि खेल खेल्दिन भन्न मिल्दैन’, घिमिरेले भने, ‘राष्ट्रिय टिममा अनुबन्ध हुनुअघि नै क्यानविरुद्ध बोल्दिन भन्ने लिखित प्रतिबद्धता जनाइसकेका छन् ।’
उनका अनुसार बुधबारबाट जारी एक दिवसीय क्रिकेट पोखरामा गरिएकामा खेलाडीको मुख्य असन्तुष्टि छ । मलेसियामा एक महिनापछि हुने एसीसी इलाइट कपमा जाने खेलाडी छनोट समेत हुने खेलमा अफगानिस्तान, यूएई, हङकङ, ओमन लगायत टोली सहभागी छन् ।
घिमिरेले क्यानविरुद्ध बोल्ने र खेल नखेल्ने घोषणा गरेका खेलाडीलाई चेतावनी वा एकदेखि तीन वर्षसम्म कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न बन्देज लगाउन सकिने बताए । खेलाडीले आरोप लगाएजस्तो व्यवस्थापन कमजोर नभएको दाबी क्यानको छ ।
घिमिरेले क्यानले खेलाडीको हितकै लागि पारिश्रमिक १० मासिक १० हजारबाट बढाएर २५ हजार बनाइएको बताए ।