
काठमाण्डु, २७ चैत – पुनः हिमाल शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै अनेरास्ववियु क्रान्तिकारीको १९औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
किर्तिपुरमा ६ दिनसम्म चलेको सम्मेलनले यसअघिकै नेतृत्व र २५ सदस्यीय पदाधिकारीलाई निरन्तरता दिने निर्णय गरेको हो ।
यस्तै यसअघिको २ सय ७१ सदस्यीय केन्द्रीय समितिलाई यथावत राख्दै त्यसमा केही सदस्य थपेर ३ सय १ सदस्यीय बनाउने निर्णय समेत भएको छ ।
साथै सम्मेलनले आगामी असारमा सांगठनिक अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय समेत गरेको अखिल क्रान्तिकारीका एक नेताले जानकारी दिए ।
नयाँ नेतृत्व चयनमा सहमति पनि जुट्न नसकेको र निर्वाचन पनि हुन नसकेकाले एमाओवादी हेर्डक्वार्टरले बुधबार शर्मालाई नै दिने निर्णय गरेको थियो ।
बुधबारको एमाओवादी हेर्डक्वार्टरको बैठकमा पनि नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले निवर्तमान उपाध्यक्ष जागृत रायमाझीलाई अध्यक्ष र निवर्तमान सचिव डिबी तामाङलाई महासचिव बनाउनु पर्ने अडान लिएपछि सहमति जुट्न सकेन ।
सोही कारण शर्मालाई नै निरन्तरता दिने निर्णय भएको स्रोतले जनायो । त्यसअघि बसेको क्रान्तिकारीको पूर्वपदाधिकारी बैठकले पार्टी हेर्डक्वार्टरको निर्णय मान्ने निर्णय गरेको थियो ।
सम्मेलनका निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताइएको छ ।