काठमाण्डु, २७ चैत – सरकारले १६ जना सचिवहरुको सरुवा तथा पदास्थापन गरेको छ । सिंहदरबारमा विहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बढुवा भएका केही सचिवको पदस्थापन र केहीको सरुवा गरेको हो ।
वैठकले मन्त्रिपरिषदको कार्यालयको सचिवमा दुर्गानिधि शर्मालाई ल्याएको छ भने गृहमा सूर्य सिलवाल र अर्थमा युवराज भुसाललाई पठाएको छ ।
यसैगरी सूचना तथा सञ्चार मन्त्रालयमा सुमनप्रसाद शर्मा, शिक्षामा विश्वप्रकाश पण्डित, सिचाईँमा माधव रेग्मी, विज्ञान तथा वातावरणमा कृष्णचन्द्र पौडेल, सामान्य प्रशासनमा ज्ञानेन्द्रप्रसाद उपाध्याय, युवा तथा खेलकुदमा प्रतावकुमार पाठक, बाणिज्य तथा आपूर्तिमा नारायण रेग्मी, भूमिसुधारमा लोक दर्शन रेग्मीलाई जिम्मेवारी दिइएको छ ।
उपराष्ट्रपतिको कार्यालयमा राजकुमार मल्ल, राष्ट्रिय योजना आयोगमा डा. सोमलाल सुवेदी, सतर्कता केन्द्रमा हरिप्रसाद रेग्मी, महालेखा परीक्षकको कार्यालयमा शंकर अधिकारी र जल तथा उर्जा आयोगमा श्रीरञ्जन लाकीलाई पठाइएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिए ।
साथै बैठकले संविधानसभाको उपनिर्वाचन २०७१ असार ८ गते गर्ने निर्णय गरेको छ । दुई ठाउँबाट निर्वाचित भएका नेताहरुले एक क्षेत्र छाड्नु पर्ने भएकाले त्यहाँ उपचुनाव गर्न लागिएको हो । गत मंसिर ४ मा भएको संविधानसभाको निर्वाचनमा कांग्रेस र एमालेका चार उम्मेदवार दुईवटा निर्वाचन क्षेत्रवाट विजयी भएका थिए ।