काठमाण्डु, २७ चैत – युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले युवा नीतिलाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।
युवा गैरसरकारी संस्था महासंघद्वारा विहीबार राजधानीमा आयोजित ‘युवा स्वरोजगार कोषको अवसर र चुनौती’ विषयका कार्यक्रममा उनले युवाको समस्या पहिचान गरी सम्बोधन गर्ने नीति बनाउनुपर्ने आवश्यकता औंल्याए ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले विभिन्न आन्तरिक कारणले कोषको सेवा युवामुखी हुन नसकेको स्विकार्दै युवालाई स्वरोजगार बनाई देशको आर्थिक विकासमा लगाउनुपर्ने बताए ।
सभासद् योगेन्द्र घिसिङ, विनोद श्रेष्ठलगायतले युवाका समस्या सम्बोधन गर्ने कानुनको निर्माण गर्नुपर्नेमा जोड दिए ।
विसं २०६५ देखि सुरु भएको युवा स्वरोजगार कार्यक्रमका लागि हालसम्म सात लाखभन्दा बढीले निवेदन दिएकामा तीन लाख ४६ हजारले रोजगारमूलक तालिम लिइसकेका छन् ।
कोषले गत पुस मसान्तसम्म युवाद्वारा सञ्चालित विभिन्न सहकारीमा लगानी गरेको रु ५२ करोडमध्ये ४६ करोड रकम असुली भइसकेको छ ।