सन् २०१८ सम्म पोलियो उन्मूलन गरिने

काठमाण्डु टुडे २०७० चैत २७ गते २:३९ मा प्रकाशित

poliyoकाठमाण्डु, २७ चैत –सरकारले सन् २०१८ सम्म नेपालबाट पोलियो उन्मूलन गर्ने गरी रणनीति तयार गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल सहित दक्षिण पूर्वी एशियाका ११ देशलाई पोलियो शून्य प्रमाणिकरण गरेपनि जोखिम कायमै रहेकाले उन्मूलन गर्ने गरी रणनीति तयार गरिएको हो ।

रणनीति अन्तर्गत पोलियो थोपा खुवाउने अभियान हटाउनेदेखि पोलियो खोपको एक मात्रा दिने सम्मका कार्यक्रम तय गरिएको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।
शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु ज्ञवालीका अनुसार नियमीत खोप दिंदै आएका देशभरका १६ हजार खोप केन्द्रका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने पनि रणनीतिमा उल्लेख गरिएको छ ।

पोलियोको खोपका तीन प्रकार मध्ये अहिले मुखबाट खुवार्ईंदै आएका ट्राईभ्यालेन्ट ओरल पोलियो भ्याक्सिन टिओपिभी र बाईभ्यालेन्ट ओरल पोलियो भ्याक्सिन बिओपिभीलाई हटाएर ईन एक्टीभेटेड पोलियो भ्याक्सिन आईओपीभी खोपको एक मात्रा दिईने महाशाखाले जनाएको छ ।

त्यसपछि खोप पनि दिन रोकेर उन्मूलनको घोषणा गरिनेछ ।

नेपाल अहिले पोलियो शून्य प्रमाणिकरण भएपनि एशियाली देशहरु अफगानिस्तान र पाकिस्तान सहित विश्वका ७ वटा देश पोलियोको जोखिममा रहेकाले नेपालले विशेष सतर्कता अपनाई सुरक्षात्मक उपाय अपनाउने सरकारको तयारी छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us