
काठमाण्डु, २६ चैत – संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माविरुद्ध परेका उजुरीको विषयमा बुधबार पनि संसदीय सुनुवाई समितिमा छलफल हुन सकेन ।
समितिको बैठक बुधबारका लागि बोलाइएको भएपनि सुनुवाईको कार्यविधिमा नै टुङ्गो नलागेका कारण सुनुवाई हुन नसकेको हो ।
संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार आजको बैठकमा सुनुवाईको कार्यविधिकै विषयमा सभासद्हरुले छलफल गरेपनि निष्कर्षमा नपुगेपछि बिहीबार पुनः बैठक बोलाइएको छ ।
शर्माविरुद्ध अदालतमा आफ्ना मान्छे नियुक्त गरेको र आश्रमको नाममा रकम उठाएको आरोप छ । उनको सम्बन्धमा सुनुवाई गरिने भनेर कार्यसूची दोस्रो पटक बुधबारका लागि तय गरिएपनि अन्तिममा आएर स्थगित भएको हो ।