चुरेभावर पार्टीका महासचिवमाथि २० लाख ठगीको आरोप

काठमाण्डु टुडे २०७० चैत २६ गते ८:४५ मा प्रकाशित

DSC_3176काठमाण्डु, चैत्र २६ – आफूलाई राष्ट्रिय चुरेभावर पार्टीका महासचिव बताउने हेमबहादुर श्रेष्ठ (श्यामले) आफूबाट २० लाख ठगी गरेको आरोप एक महिलाले लगाएकी छिन् ।

ललितपुर उप–महानगरपालिका वडा नं. १७ सातदोबाटो निवासी बबिता श्रेष्ठले पाटन औधोगिक क्षेत्रको जग्गा उपलब्ध गराइदिने भन्दै श्रेष्ठले २० लाख ठगी गरेको बताएकी हुन् ।

रिपोर्टर्स क्लब नेपालमा बुधवार पत्रकार सम्मेलन गर्दै पिडित बबिता श्रेष्ठले श्याम श्रेष्ठले पटक–पटक गरी आफूबाट २० लाख रुपैयाँ ठगी गरेको बताईन् ।

ललितपुरमै घरेलु उद्योग सञ्चालन गर्दै आएकी बबिता श्रेष्ठले आफूलाई ललितपुरको पाटन औधोगिक क्षेत्रको जग्गा उपलब्ध गराइदिने प्रलोभनमा पारी श्रेष्ठले २० लाख रुपैयाँ लिएको जानकारी दिईन् ।

‘मैले चैत्र ०३ गते उसकाविरुद्ध उजुरी दिएको थिएँ, अहिले श्याम श्रेष्ठ हनुमान ढोकामा छन्, उनले भनिन्, ‘हनुमान ढोका जाँदा धरौटीमा छुट्छु भन्छ, अनि तेरो पैसा दिन्न भनेर उल्टै मलाई धम्क्याउँछ ।’

श्रेष्ठले २०७० माघ ३० गतेको मितिमा नेपाल एसबिआइ बैंकको खाता नं. २०४१५२४०७०००८३ मा साँढे दुई लाख, मिति २०७० फागुन २० गते पाँच लाख पचास हजार र सनराइज बैंकको खाता नं. ००२१९०२२२७९०११ मा फागुन ३० गते १२ लाख गरी जम्मा २० लाख रुपैयाँ बराबरको रकम नभएको चेक काटेर ठगी गरेको खुलस्त पारिन् । श्याम श्रेष्ठले आफूसंग गरेको कागज पनि फर्जी रहेको उनले बताइन् ।

काठमाण्डु प्रहरी प्रमुख हनुमान ढोका परिसरका एसएसपी रमेश खरेलले कडा भन्दा कडा कारवाही गरी रकम उठाइदिने विश्वास दिलाएको बताउँदै उनले आफूलाई अन्याय भएको बताईन् । पिडित श्रेष्ठले आफनो रकम चाँडो भन्दा चाँडो उठाइदिन अनुरोध समेत गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us