
इटहरी, २६ चैत – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा हीराबहादुर महर्जनले बेरुजुको चपेटा, खस्कदो गुणस्तर र अनुशासनहिनताबाट जर्जर त्रिविलाई सबैले मिलेर सुधार्नुको विकल्प नरहेको बताएका छन् ।
उपकुलपति प्राडा महर्जनले त्रिवि आङ्गिक क्याम्पस प्रमुख, लेखा प्रमुख तथा प्रशासन प्रमुखको धरानमा भएको दुई दिने पूर्वाञ्चल क्षेत्रीय कार्यशालामा सो धारणा राखेका हुन् ।
विगत वर्षमा नै त्रिविलाई सुधार गर्न सहमति बनिसकेको अवस्थामा अझै पनि अटेर गरेर सुधार गर्नेतिर सम्पूर्ण आङ्गिक क्याम्पस संवेदनशील नहुने हो भने कहाँबाट सुधारको आशा राख्ने भन्ने प्रश्न गर्दै उपकुलपति महर्जनले अब कडाइका साथ सुधार गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा त्रिविका रजिस्टार प्राडा चन्द्रमणि पौडेलले राज्यको कुल बेरुजु ७६ अर्ब रहेको अवस्थामा त्रिवि एक्लैको १० अर्ब बेरुजु देखिनु कहाली लाग्दो अवस्था भएको बताउदै त्रिवि आङ्गिक कलेजका केही क्याम्पस प्रमुखले आफ्नो पद जोगाई राख्नका लागि रु ३८ लाखसम्म चन्दा दिएको तथ्य फेला परेको र क्याम्पसका लेखा प्रमुखले ऐनमा नै नभएको अधिकार प्रयोग गरेर पियनलाई रु ११ लाखसम्म पेस्की दिएर पदको दुरुपयोग गरेको जानकारी दिए ।
रजिस्टार पौडेलले त्रिविमा देखिएका यस्ता अनियमितता, बेरुजु, बेथिति र अटेरीपन हटाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक मौखिक रुपमा कारबाहीका लागि कुरा उठाइरहेकाले अब पनि अटेर गरे त्यस्ता क्याम्पस प्रमुख, लेखा प्रमुख वा प्रशासन प्रमुखहरु कारबाहीको घेराबाट उम्कन नसक्ने चेतावनी दिए ।
त्रिवि शिक्षाध्यक्ष प्राडा गुणनिधि न्यौपानेको सभापतित्वमा भएको हिजो सम्पन्न दुई दिने सो कार्यशालामा क्याम्पसको सुधारका लागि गरिनुपर्ने उपायका बारेमा छलफल गरिएको थियो ।