
नुवाकोट, २५ चैत – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले नेपालले पाँच वर्षभित्र २२ विमान किन्ने योजना बनाएको बताएका छन् ।
बेत्रावतीलाई गुरु योजनाअनुसार निर्माण गर्नका लागि सञ्चालन भइरहेको श्रीमद्भागवत नवाह महायज्ञमा सहभागी हुन आएका मन्त्री आचार्यले विदुरस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा पाँच वर्षभित्र अन्तर्राष्ट्रिय उडानका लागि सात ठूला र घरेलु उडानका लागि १५ साना विमान खरिद गर्ने योजना बनिरहेको बताए ।
नेपालको पर्यटन विकास र प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय विमानस्थल महत्वपूर्ण भएकाले तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको फाइल अघि बढाएको जानकारी दिए । यस्तै भैरहवा र निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया समेत अघि बढाइएको उनको दावी छ ।
मन्त्री आचार्यले अन्य विमानस्थलको सुधार र आधुनिकीकरणका लागि पनि सरकारले प्राथमिकतामा राखेको बताए ।
एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका मन्त्री आचार्यले पार्टीको महाधिवेशनमा अनुहारभन्दा पनि पार्टीलाई आगामी पाँच वर्षसम्म हाँक्न सक्ने योग्य व्यक्तिलाई चयन गर्न आग्रह गर्दै जनताको बहुदलीय जनवाद (जबज)लाई परिमार्जनसहित कार्यान्वयनको पाटामा लैजानुपर्ने बताए ।