
गोरखा, २५ चैत – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले आफ्नोभन्दा सेवा दिने डाक्टरहरुको समाचार बनाउन आग्रह गरेका छन् ।
गोरखा अस्पतालमा मंगलबार आयोजित ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार र डाक्टर एकअर्काका परिपूरक हुन्, नेताको भन्दा सेवा दिने डाक्टरको बारेमा लेखिनुपर्दछ ।’
गोरखा अस्पताल स्थापना भएको ४१ वर्षपछि औपचारिक कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन थालिएको हो । गोरखा अस्पताल २०२९ साल चैत २५ गते स्थापना भएको थियो ।
अस्पतालको स्थापना भएदेखि नै पहिलोपटक वार्षिकोत्सवको कार्यक्रम भएको गोरखा अस्पतालका पुराना कर्मचारी एवम् हेल्थ असिस्टेन्ट कृष्ण ढकालले जानकारी दिए ।
अस्पताल विकास समितिका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सचिव डा केशवराज भुर्तेलले अस्पतालको छाना चाल्नो जस्तो भएकाले पानी पर्दा बिरामीलाई शय्यासहित सार्नुपर्ने समस्या रहेको बताए ।
अस्पतालमा बाल स्वास्थ्य चिकित्सकको अभाव रहेको, विकास समितिअन्तर्गत राखिएका कर्मचारीलाई मासिक रु पाँच हजारभन्दा बढी दिन नसकिएको, ५० शय्या क्षमताको अस्पतालका बेड प्यासेजमा राख्नुपरेको समस्या रहेको उनको भनाइ छ ।
वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले विभिन्न नौ वटा सामाजिक संस्था, ११ कर्मचारी र एक जना भूपू कर्मचारीलाई सम्मान गरेको थियो ।
अस्पतालको स्तरोन्नति भएपछि मन्त्रालय र विभागबाट अनुदान रोकिएका कारण निःशुल्क सेवा दिन नसकिएको डा भुर्तेलले बताउनुभयो । गोरखामा नर्सिङ कलेजको आवश्यकता रहको बताउँदै उनले भने, ‘गोरखा अस्पतालबाटै त्यस्तो सेवा दिन सकिने भएकाले त्यसमा नीतिगत व्यवस्था हुनुपर्दछ ।’
चौबिसै घण्टा सेवा दिने गोरखा अस्पताल नेपालकै नमुना अस्पतालका रुपमा रहेको भुर्तेलले बताए ।