यस कारण चढ्न थाले माओवादी नेता श्रेष्ठ माइक्रो बस

काठमाण्डु टुडे २०७० चैत २३ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, २३ चैत– एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठ निजी गाडी बेचेर सार्वजनिक गाडीमा यात्रा गर्न थालेका छन् ।
Narayan Kaji Shrestha interview ktmtdy3श्रेष्ठ पछिल्लो एक सातायता व्यक्तिगत सुरक्षाकर्मी र केही सहयोगीका साथ सार्वजनिक सवारी साधनमा यात्रा गर्दै आएका छन् ।

उनले यसअघि चढ्दै आएको स्कोरपिओ गाडी ऋण तिर्न भन्दै पार्टी कार्यकर्ताकै नातेदारलाई बेचेको श्रोतले जनायो । सार्वजनिक यातायातमा यात्रा थालेको बारे काठमाण्डु टुडेले गरेको प्रश्नमा उनले केही नबोल्ने बताए । ‘यसबारे म तपाईलाई केही भन्न सक्दिन’, श्रेष्ठले भने, ‘ सत्याग्रहजस्तै अवस्थामा छु ।’
स्रोतका अनुसार उनले पार्टी नेतृत्वको आचरण सुधार र पार्टी सुद्धीकरणका लागि सार्वजनिक यातायातमा हिंड्न थालेको बताउने गरेका छन् । ‘सम्पत्ति केही छैन भन्ने, महंगो गाडी चढ्ने, सुविधा सम्पन्न फ्ल्याटमा बस्ने ।

पार्टीले खर्च व्यहोर्न सक्दैन । पैत्रिक सम्पति पनि होइन भन्ने पार्टीले पनि दिएको छैन अनि कसरी गाडी चड्ने त ? उनले निकटस्थहरुसँग अनौपचारिक कुराकानीमा भन्ने गरेका छन् । स्रोतले दिएको जानकारीअनुसार उनले गाडी चढ्ने नहुने पक्षमा आफू नरहे पनि त्यसको श्रोत पारदर्शी हुनुपर्ने बताउने गरेका छन् ।

संविधानसभा निर्वाचनपछि बसेको केन्द्रीय समिति बैठकले पार्टी शुद्धीकरणका अभियान थाल्ने निर्णय गरे पनि कार्यान्वयन नभएकाले आफूले सुरुआत गरेको भनाइ उनको स्रोतको भनाइ छ । ‘यो रुपान्तरणा लागि एक प्रकारको सत्याग्रहजस्तै हो’, श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुविधाको मामलालाई व्यवस्थित र पारदर्शी नबनाउने हो भने रुपान्तरण र सर्वहाराकरणको अमुर्त  कुरा गर्नुको केही अर्थ छैन ।’

एक सहयोगीका अनुसार श्रेष्ठलाई सार्वजनिक यातायातमा चढेको देखेर सर्वसाधारण आश्चर्यमा पर्ने गरेका छन् । कतिपय चालकले श्रेष्ठ आफ्नो गाडीमा चढेपछि सहचालकलाई छिटो गन्तव्यमा पुग्नुपर्ने बताउने गरेका छन् । ‘ड्राइभरहरु खलासीसँग सर चढ्नुभएको छ, छिटो जानुपर्‍यो भन्छन्’, ती सहयोगीले भने ।

श्रेष्ठले गाडीमा हिंड्दाको अनुभव पनि सुनाउने गरेका छन् । ‘सार्वजनिक यातायातमा हिंड्दा जनताले कति धुवाँ धुलो खानुपर्दोरहेछ, समय कति लाग्दो रहेछ भन्ने कुरा थाहा पाइयो’, श्रेष्ठले भन्ने गरेका छन् ।

काठमाण्डु टुडेको एक प्रश्नको जवाफमा श्रेष्ठले भने, ‘नेपाली समाजमा राजनीति भनेको सत्ता, पैसा र भ्रष्टाचारका निम्ति भन्ने स्थापित भइरहेको छ, नेता भनेका भष्ट र ढोंगी हुन भन्ने आमजनतामा परेकै छ’, श्रेष्ठले भने, ‘मैले सार्वजनिक गाडीमा यात्रा गरेका विषयमा भएका टिप्पणीबारे केही भन्नु छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us