काठमाण्डु, २२ चैत । संयुक्त खस क्षत्री एकीकरण समन्वय समितिले विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने सभासद्लाई शनिबार राजधानीमा एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
सम्मानित हुने सभासद्मा सिपी मैनाली, टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, दीपक बोहरा, तुलाराज विष्ट, टेकबहादुर बस्नेत, भरतबहादुर खड्का, बुद्धिराज भण्डारी, मिठु मल्ल, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, लक्ष्मणसिंह खड्का, सुभाषचन्द ठकुरी, राजेन्द्रकुमार केसी, केशव थापा, विक्रम पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, मोहन बानियाँ, गणेशसिंह ठगुना, जयन्त चन्द, भरत साउद, महेन्द्रबहादुर शाही, रीता रावल, विक्रमबहादुर थापा, दीपक खड्का, रामहरि खतिवडा र अमरबहादुर थापा छन् ।
मुलुकमा दीर्घकालीन शान्ति र संविधान निर्माण गर्न अभिप्रेरित गर्ने उद्देश्यले उहाँहरुलाई सम्मान गरिएको आयोजकले बताएको छ । समितिका संरक्षक हिमालय शम्शेर राणा र रणबहादुर थापाले ती सभासद्लाई सम्मान गरे ।
संरक्षक राणाले सो समितिले मुलुकमा राष्ट्रिय अखण्डता, जातीय सद्भाव, धार्मिक सहिष्णुता तथा सामाजिक न्यायका पक्षमा जनमत तयार गर्न भूमिका खेल्दै आएको बताउदै सभासद्लाई संविधानमा सबै नागरिकका अधिकारलाई संरक्षण गरी देशको विकासमा अधि बढन आग्रह गरे ।
सो अवसरमा सभासद् मैनाली, रायमाझी, बोहराले पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरी अखण्ड राखेको चर्चा गर्दै सबै समुदायका अधिकारलाई सुनिश्चित गरी विविधता युक्त नेपाली समाजलाई एकताबद्ध गर्न सकिने विचार व्यक्त गरे ।