
काठमाडौँ, २२ चैत । प्रधानमन्त्री सुशील कोइरालाले काठमाण्डु उपत्यकाभित्र जारी विस्तारित सडकको कामलाई तत्काल सम्पन्न गर्न र सरकारी निकायहरुबीच समन्वयमा काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुबाटारमा काठमाण्डु उपत्यका सडक विस्तार आयोजना निर्देशन समिति र सो सडक आयोजनासँग सम्बन्धित उच्च सरकारी अधिकारीहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले एकापसमा समन्वयन नहुँदा काम प्रभावकारी हुन नसकेको भन्दै सो समस्या सुधार्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले भने, ‘सडक विभागले सडक निर्माण गर्दै जाने खानेपानी, ढल, टेलिकम, नेपाल विद्युत् प्राधिकरणलगायतले फेरि भत्काउँदै जाने अवस्थाको अन्त्य गरिनुपर्दछ, यसो हुन सकेमात्र समयमै काम सम्पन्न हुन सक्दछ ।’
प्रधानमन्त्री कोइरालाले हरेक कामलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने र त्यसमा कुनै पनि सम्झौता नगर्न आग्रह गरे ।
उनले सडक विस्तारसँगै सडक संरचना आसपासमा सुन्दरता ल्याउन र अनावश्यक पार्किङ नगराउन तथा जथाभावी निर्माण सामग्री नथुपार्न र धूलोको समस्या समाधान गर्न पनि ध्यानाकर्षण गराए ।
सडक विस्तार भए पनि विस्तारित सडकमा गुणस्तरीयता नभएको, कमसल निर्माण सामग्रीको प्रयोग भएको, काम कारबाहीमा लापरबाही भएको भन्ने गुनासो आएको भन्दै उनले गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिए ।
गुणस्तरहीन काम भएको भए त्यसको छानबिन गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई आग्रह गरिएको समेत सो अवसमा जानकारी गराइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए ।
माइतीघर–तीनकुने सडकखण्डको काम यही चैत मसान्तसम्म पूरा हुने, लाजिम्पाट–बूढानीलकण्ठ सडकको कुल नौ किलोमिटरसमेत यही चैत मसान्तभित्रै सम्पन्न हुने क्रममा रहेको सो अवसरमा जानकारी गराइएको थियो । यही चैत मसान्तसम्म काठमाण्डु उपत्यकाभित्र ९१ किलोमिटर सडक कालोपत्र भइसक्नेछ ।
काठमाण्डु महानगरपालिकाले निर्माण अगाडि बढाएको कुल २२ किलोमिटरमध्ये १४ किलोमिटर चैत मसान्तसम्म पूरा हुनेछ भने एकीकृत वागमती सभ्यता आयोजनाको कुल ३० किलोमिटर सडकमध्ये चार किलोमिटर कालोपत्र हुने र चालु आर्थिक वर्षको अन्त्यसम्म १० मिलोमिटर सडक कालोपत्र भइसक्ने सो अवसरमा प्रधानमन्त्री कोइरालालाई जानकारी गराइएको सचिव बाँस्कोटाले जानकारी दिए ।
हालसम्म सडक विस्तार आयोजनाका लागि सरकारले १० अर्ब र निजी क्षेत्रबाट रु ४० अर्ब गरी कुल रु ५० अर्ब खर्च भएको समेत सचिव बाँस्कोटाले जानकारी दिए ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन अगावै उपत्यकाभित्रको सडक विस्तारको सबै कामलाई पूर्णता दिने, काममा हेलचेक्र्यार्इं गर्ने निर्माण व्यवसायीलाई कानुनअनुसार कारबाही गर्नसमेत आफूहरु तयार रहेको सचिव बाँस्कोटाको भनाइ थियो ।