बस सञ्चालनमा अवरोध पुर्याउँदा समस्या भएको गुनासो

काठमाण्डु टुडे २०७० चैत २२ गते ७:१३ मा प्रकाशित

सप्तरी, २२ चैत – प्रहरीको मिलेमतोमा केही बस सञ्चालकले बस सञ्चालनमा अवरोध गर्दै आएको सगरमाथा यातायात सङ्घ सप्तरीका पदाधिकारीहरुले आरोप लगाएका छन् ।

प्रहरीको मिलेमतोमा एउटा बसको समयमा अर्काे बस जबर्जस्ती सञ्चालन गर्न थालेपछि आफूहरुलाई यातायात सञ्चालन गर्न समस्या भएको उनीहरुको गुनास छ ।

सगरमाथा यातायात सङ्घका पदाधिकारीहरुले शनिबार राजविराजमा पत्रकार सम्मेलन गरी यस्तो गुनासो गरेका छन् ।

प्रहरीको मिलेमतोमा केही बस सञ्चालकले राजविराज–धरान सञ्चालन हुँदै आएको देविका ट्राभल्सलाई जबर्जस्ती अरु बसको समयमा सञ्चालन गराएको आरोप लगाए ।

वडा प्रहरी कार्यालय राजविराजका प्रहरी नायब निरीक्षक रामनारायण यादवको मिलेमतोमा सप्तरीका जमुनी मधेपुरा निवासी भुपेन्द्र यादव र वीरेन्द्र यादवले देविका बसका सञ्चालक रामशङ्कर गिरीलाई डर धम्की देखाई कगजी रुपमा परिवर्तन गरी त्यो ठाउँमा राजेश ट्राभल्स नामक बस सञ्चालन गर्न लागेको अध्यक्ष अन्सारीको भनाइ थियो ।

यस विषयमा राजेश ट्राभल्सका सञ्चालक राजकुमार दाससँग बुझ्न जाँदा उल्टै आफूहरुलाई धम्की दिएको आरोप लगाउँदै अध्यक्ष अन्सारीले समय परिवर्तनसम्बन्धी विवाद सगरमाथा यातायात सङ्घमै बसेर टुङ्ग्याउनुपर्ने नियम हुँदाहँुदै पनि प्रहरीले हस्तक्षेप गरेर आफूहरुप्रति अपमान गरेको गुनासो गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us