प्रचण्ड भन्छन्, ‘अदालत देवताको अदालतजस्तो बन्न खोजे द्वन्द्व निम्तिन्छ’

काठमाण्डु टुडे २०७० चैत २१ गते १६:४९ मा प्रकाशित

prachanda_ucpnmकाठमाण्डु, २१ चैत – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालत देवताको अदालतजस्तो बन्न खोजेको टिप्पणी गरेका छन् ।

अखिल क्रान्तिकारीको राष्ट्रिय अधिवेशन उद्घाटनशत्रलाई शनिबार किर्तिपुरमा सम्बोधन गर्दै प्रचण्डले द्वन्द्वकालीन मुद्धाहरुको सम्बन्धमा सर्वाेच्च अदालतले गरेको फैसला गलत भएको बताए ।

सर्वाेच्चले संक्रमणकालीन कानुन र सत्य निरुपण तथा बेपत्ता खोजविन आयोग नबनेसम्म द्वन्द्वकालीन घटनाको निरुपणका लागि पनि पूरानै कानुन अनुसार कारबाही गर्नु भन्ने आदेश दिएको थियो ।

‘अदालत, सरकार तथा दलहरु सबै शान्ति सम्झौताले बाँधिएका छन्,’ प्रचण्डले भने, ‘अदालतले देवताको अदालतजस्तो बन्न खोजे मुलुक द्वन्द्वमा फस्न सक्छ ।’
शान्ति प्रक्रिया सफल हुन नदिन आफूहरुलाई तथाकथित अन्तराष्ट्रिय अदालतमा उभ्याउने कुरा उठाएको उनको भनाई छ ।

‘हिजो हाम्रो टाउकाको मूल्य तोक्नेहरुले नै अहिले तथाकथित अन्तराष्ट्रिय अदालतमा उभ्याउने कुरा गर्दैछन्,’ प्रचण्डले भने, ‘पहिले टाउकाको मूल्य तोके अहिले टाउको खोज्दैछन् ।’

प्रचण्डले शान्ति सम्झौताको मर्म अनुसार नै तत्काल सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोगको विधेयक ल्याउने माग गरेका छन् ।

साथै प्रचण्डले संविधानसभाबाट संविधान बनाउनुको विकल्प नभएको बताएका छन् । अहिले गणीतिय रुपमा कमजोर देखिएपनि यो समग्र प्रक्रियाको नेतृत्व आफूहरुले नै गरेकाले प्रक्रियाबाट नबाहिरिने प्रचण्डको भनाइ छ ।

शान्ति प्रक्रियामा आएपछि आफूहरुलाई यहाँसम्म ल्याउने जनताभन्दा प्रतिक्रियावादी, दलाल र पूँजीपतिहरुसँग सहकार्य गर्नुपरेकाले जनता रिसाएको प्रचण्डको टिप्पणी थियो ।

वैदेशिक हस्तक्षेपबारे जनतालाई कुरा बुझाउनु पर्नेमा बढी कुटनीतिक बन्नु कमजोरी भएको भन्दै प्रचण्डले, ‘आफूहरु सिंहको बच्चा भएपनि भेडाको बच्चाजस्तो बन्नु परेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us