
काठमाण्डु, २० चैत– नेपाल पत्रकार महासंघको विधान संशोधनका लागि एक प्रस्ताव प्रस्ताव दर्ता भएको छ । राजधानीमा बिहीबार भएको पत्रकार सम्वद्ध विभिन्न संघसंस्थाको निर्णयअनुसार विधान संशोधन प्रस्ताव दर्ता भएको हो ।
सभासदहरु एबीसी टेलिभिजन शाखाका डण्ड गुरुङ, काठमाण्डु शाखाकी यशोदा अधिकारी, रौतहट शाखाका कुमार विवेकानन्द मिश्र, ललितपुर शाखाका रेम विश्वकर्मा, गोरखा एफएम शाखाका मोहनसिंह लामा, नुवाकोट शाखाका दयानिधि भट्ट र काठमाण्डु शाखाका सुरेशकुमार यादवले महासंघ केन्द्रीय कार्यालयमा विधान संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा महासंघलाई समावेशी बनाउन यसअघि पोखरा साधारण सभामा केन्द्रीय समितिका तर्फबाट पेश गरिएको प्रस्ताव कार्यान्वयन गर्न माग गरिएको छ । पोखरा अधिवेशनमा अध्यक्षले आगामी महाधिवेशनबाट पारित गर्ने गरी तत्कालका लागि प्रस्ताव फिर्ता गरिएको स्मरण गराइएको छ ।
प्रस्तावमा महासंघ केन्द्रमा लेखा र अनुशासन समितिको व्यवस्था गर्न, एक अल्पसंख्यक र एक अपांगता भएका सदस्य थप गर्न, हाल हरेक सात साधारण सदस्य बराबर एक केन्द्रीय पार्सद हुने व्यवस्था परिवर्तन गरी १० सदस्य बराबर एक पार्सद हुने व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै उपाध्यक्षहरुमा वरिष्ठ–१, महिला १ र खुलातर्फबाट १, सचिवमा ५ मध्ये खुला २, आदिवासी जनजाति १, महिला १ र दलित १ तथा जिल्ला शाखामा उपाध्यक्षमा महिला र सहसचिव समावेशी व्यवस्था गर्ग माग गरिएको छ ।
विधान संशोधन प्रस्तावप्रति प्रेस चौतरी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार संघ, मधेसी तथा दलित पत्रकार सम्वद्ध संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
महासंघले महाधिवेशनमा पेश गर्ने प्रस्ताव दर्ता गराउन बिहीबार अन्तिम समय तोकेका छ । महासंघको महाधिवेशन आगामी वैशाख २१ र २२ गते काठमाण्डुमा हु“दैछ ।