
काठमाण्डु, २० चैत– सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले आफ्नो आलोचना गरेको आरोपमा एक अधिकृतलाई कारबाही गरेका छन् ।
वन्तले सशस्त्रका एसएसपी दुर्गाबहादुर कुँवरलाई कारबाही गरेका हुन् । कुँवरमाथि केही साताअघि नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी म्यानजमेण्ट ट्रेनिङबारे छलफल कार्यक्रममा महानिरीक्षक वन्त र संगठनविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।
स्रोतका अनुसार वन्तको निर्देशनमा प्रशासन विभाग प्रमुख अतिरिक्त महानिरीक्षक जीवन थापाले रेकर्डमा जनिने गरी विभागीय कारबाहीको तयारी गरेका छन् ।
नेपाल प्रहरी र नेपाली सेनाका अधिकृतहरु सहभागी कार्यक्रममा सशस्त्रका तर्फबाट कुँवरले बोलेका थिए । त्यस क्रममा उनले सशस्त्र र नेपाल प्रहरीको संरचना एकै प्रकारको रहेको भन्दै सरकारले ‘टास्क’ स्पष्ट पार्नुपर्ने बताएका थिए ।
आगामी भदौमा डीआईजी बढुवाको एक नम्बरमा रहेका कुँवर सशस्त्रमा स्वच्छ छविमा अधिकृतका रुपमा चिनिन्छन् । ०५८ सालमा नेपाल प्रहरीको निरीक्षक रहेका कुँवर सशस्त्रमा नायव उपरीक्षक भएर आएका हुन् ।
कुँवरलाई बारबाही हुने भएपछि सशस्त्र प्रहरीमा हलचल पैदा भएको छ । महानिरीक्षक वन्तमाथि भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।