
काठमाण्डु, १९ चैत – नेपाली श्रमिकलाई मलेसियामा सरलरुपमा बढी संख्यामा रोजगारीका अवसर उपलब्ध गराउने सम्बन्धमा नेपाल र सो मुलुकका उच्च अधिकारीबीचको वार्ता श्रम तथा रोजगार मन्त्रालयमा सुरु भएको छ ।
मलेसियाको श्रम मामिलासमेत हेर्ने त्यहाँका गृहमन्त्री डा अहमद जालिद हमिदी नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डल र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको नेपाली टोलीबीचको वार्ता नेपाली श्रमिकको व्यवस्थापन, उनीहरुको सेवा सुविधालगायत विषयमा केन्द्रित भएको छ ।
नेपाली टोलीमा श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ, सोही मन्त्रालयका सल्लाहकार डा रमेश कोइराला, सहसचिव एवम् वैदेशिक रोजगार महाशाखाका प्रमुख बुद्धिबहादुर खड्का, वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्कर, मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमान सिंह बस्न्यात र परराष्ट्र मन्त्रालयका उपसचिव रीता धिताल छन् ।
त्यसैगरी मलेसियाली टोलीमा त्यहाँको अध्यागमन विभागका महानिर्देशक, श्रम कार्यालयका प्रमुख र यहाँस्थित मलेसियाली दूतावासका कार्यबाहक राजदूत फादी अदिल्लाहलगायत सहभागी छन् ।