
काठमाण्डु, १९ चैत – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले खुट्टा कमाएकाले स्थानीय निकायको निर्वाचनका विषयमा आशंका उब्जिएको बताए छन् ।
प्रेस चौतारी धादिङले बुधबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनावको मिति घोषणामा ढिला गर्न नहुने बताए ।
‘प्रधानमन्त्रीले अरु पार्टीले मान्दैनन् भनेर निरिहता देखाउने होइन’, उनले भने, ‘चुनाव गराउन प्रधानमन्त्रीको खुट्टा दरो नहुँदा स्थानीय चुनाव नहुने हो कि भन्ने आंशका उब्जिएको छ ।’
साथै नेपालले अबको ९ महिना भित्रमा जसरी पनि संविधान जारी गर्नुपर्ने बताए । दलहरुबीच सहमति जुटाएर संविधान निर्माणको काममा लाग्नुको विकल्प नभएको उनको भनाई छ ।
एमालेको नवौं महाधिवेशन पछिको नेतृत्वमा तपाईंको दावी रहन्छ ? भन्ने पत्रकारको जिज्ञासामा नेपालले परिस्थिति आएपछि मात्रै यसबारे बोल्ने बताए ।
धादिङको खाल्टे गाउँ विकास समितिस्थित पात्लेमा सञ्चालित होमस्टे र शंखादेवी माविमा सञ्चालन भएको श्रीमत भागवत महापुराणको उद्घाटन गर्न धादिङ पुगेका नेपालले जिल्लाको विकासका लागि एकजुट हुन सुझाव दिए ।
धादिङ अनेकतामा एकता भएको जिल्ला हो भन्दै नेपालले विकासको प्रचुर सम्भावना रहेको बताए ।