काठमाण्डु, ३ फागुन – युएईमा बिहिबारदेखि सुरू भएको पाकिस्तान सुपर लिगमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित लाहोर क्वालान्दर्स उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन इस्लामावाद युनाइटेडसँग पराजित भएको छ ।
युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहिबार राति भएको पहिलो खेलमा क्वालान्दर युनाइटेटसँग ५ विकेटले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको क्वालान्दर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । यता बिग ब्यास लिग खेलिरहेका सन्दीप यतिबेला अष्ट्रेलियामा छन् ।
उनको टिम मेलबर्न स्टार्सले बिहिबारै भएको सेमिफाइनलमा घरेलु टोली होबर्ट हुरिक्यान्सलाई हराउँदै फाइनलमा पुगेको छ । अब सन्दीप आगामी फेब्रुअरी १७ मा हुने फाइनल पछि मात्र युएई जानेछन् ।