एजेन्सी । दुई साताअघि विमानसँगै बेपत्ता भएका अर्जेन्टिनी फुटबलर इमिलियानो सालाको शव बिहीबार राति समुद्रबाट निकालिएको छ ।
दुर्घटनाग्रस्त विमानबाट सालासँगै उनका पाइलट डेभिड इबोस्टनको शव निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । २८ वर्षीय साला दुर्घटनामा पर्नुभन्दा दुई दिनअघि मात्र फ्रेन्च क्लब नान्टेसबाट इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भएका थिए ।
नान्टेसबाट वेल्सका लागि गत २१ जनवरीमा उडेको साला सवार विमान इङ्लिस च्यानल क्षेत्रबाट बेपत्ता भएको थियो । त्यसपछि साला र विमानको खोली गरिएको थियो । सुरुमा खोजी सम्भव नभएको भन्दै सरकारी अधिकारीले बीचमैमा खोजीकार्य छाडेका थिए ।
केही दिअघि मात्र निजी क्षेत्रको प्रयासमा सालाको पुनः खोजी थालिएको थियो । खोजी टोलीले बेपत्ता विमान समुद्री पिँधमा डुबेको अवस्थामा फेला पारेको र विमानमा सालाको शवसमेत देखिएको बताइएको थियो ।
साला र उनका पाइलटको शव बिहिबार अबेर निकालेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको बताइएको छ । यस विषयमा सालाको परिवारलाई पनि जानकारी दिईएको छ ।
यता, सालाको पूर्व क्लब नान्टेसले कार्डिफसिटीसँग १५ मिलियन रकम भुक्तान गर्न माग गरिरहेको छ । साला कीर्तिमान मुल्यमा कार्डिफ गएका थिए । उनले क्लबका लागि खेल्न भने पाएका थिएनन् ।