बिग ब्यास खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया आइपुगे

काठमाण्डु टुडे २०७५ माघ २२ गते १०:२२ मा प्रकाशित

मेलबर्न, २२ माघ – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिग ब्यास लिगमा बाँकी खेल खेल्न अष्ट्रेलिया आइपुगेका छन् ।

युएईविरुद्धको तीन खेलको एकदिवसीय र टी–ट्वान्टी सिरिज सकेर युएईबाटै अष्ट्रेलिया आएका सन्दीप आज मेलबर्न आइपुगेको उनको टिम मेलबर्न स्टार्सले जनाएको छ । सन्दीपले बिग ब्यासका बाँकी २ लिग खेल खेल्नेछन् ।

जारी बिग ब्यासमा सन्दीपले चार खेलबाट आठ विकेट लिइसकेका छन् । फेब्रुअरी १८ सम्म चल्ने बिग ब्यासमा समूह चरणको अन्तिम खेल फेब्रुअरी १० मा हुनेछ ।

सन्दीपले अब शुक्रबार लिगको १३ औं र आइतबार अन्तिम खेल खेल्नेछन् । सन्दीपको टीम मेलबर्न स्टार १२ खेलबाट अंक तालिकाको चौथो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको होबर्ट ह्युरीक्यान्सको १८ अंक छ भने दोस्रो स्थानमा रहको सिड्नी सिक्सर्सको १६ र समान अंकसहित मेलबर्न रेनेगार्ड तेस्रो स्थानमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us