काभ्रे, १४ चैत– काभ्रेको बनेपामा एक १२ वर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ ।
चार जनाको समूहमा रहेका व्यक्तिहरुले बालिकालाई स्थानीय बालकुमारी जंगलमा लगेर बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
रामेछाप घर भई उग्रतारा–१ मा डेरा गरी बस्दै आएकी बालिका स्थानीय विद्यालयमा कक्षा ४ मा पढ्थिन् । जंगलमा घाँस दाउरा गर्न गएका महिलाहरुले देखेपछि बलात्कारमा संलग्न समूह भागेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बलात्कारमा संलग्न तीन जना पक्राउ परेको र फरार एक जनाको खोजी भइरहेको बताए । बीसीका उनका अनुसार पक्राउ पर्नेमा उग्रतारा–१ डेरा गरी बस्ने दिपक कार्की, रोशन रञ्जित र दिपेश तामाङ छन । उनीहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि घटनाबारे पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराइने प्रहरीको भनाइ छ ।