काठमाण्डु, ११ चैत – राजधानी बाहिर रहेका सभासद्हरुको आग्रहपछि नेपाली काँग्रेसले यही चैत १२ गते गरिने संविधानसभा संसदीय दल कार्यसमितिको निर्वाचन तालिकामा केही संशोधन गरेको छ ।
संशोधित कार्यतालिका अनुसार उम्मेदवारका लागि दरखास्त दिने समय चैत १२ गते बुधबार बिहान ११ बजेसम्मका लागि तोकिएको छ ।
उम्मेदवारको प्रथम नामावली प्रकाशन सोही दिन बिहान ११:३० बजे र त्यसमाथि दाबी विरोधको समयवधि ११:३० देखि ११:४५ बजेसम्म रहेको छ ।
त्यस्तै, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते दिउँसो १:४५ बजे र मतदान दिउँसो ३:०० बजेदेखि ५:३० बजेसम्म हुने काँग्रेसका प्रवक्ता एवम् निर्वाचन समितिका संयोजक दिलेन्द्रप्रसाद बडूले बताए ।
१७ सदस्यीय कार्यसमितिका लागि मंगलबार ३२ जनाको उम्मेदवारी परेको छ ।