नेपाली कागज उद्योग सङ्कटमा

काठमाण्डु टुडे २०७५ पुष २६ गते १५:३८ मा प्रकाशित

बनेपा, २६ पुस – आवश्यक परेका बेलामा कच्चा पदार्थ नपाउने भएपछि वर्षौंदेखि सञ्चालमा रहेको यहाँका नेपाली कागज उद्योग सङ्कटमा परेको छ ।

विसं २०५८ मा दुई जना मिलेर दर्ता गरेर शुरु गरेको फ्रेण्डसीप पेपर उद्योग व्यवसाय कच्चा पदार्थको अभावमा आवश्यक कागज उत्पादन गर्न समस्या भइरहेको सञ्चालक पुरुषोत्तम पौँजुले बताए । करीब रु सात लाखमा त्यो बेलामा शुरु गरेको कागज उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ (लोक्ता) हिमाली क्षेत्रमा मात्रै पाइने र त्यहाँबाट ल्याउनलाई समस्या हुने गरेको उनि बताउछन् ।

‘पहाडी जिल्ला इलाम, ताप्लेजुङ र दोलखालगायतका जिल्लाबाट कच्चा पदार्थ ल्याउनु पर्छ, उतै उत्पादन भएको ठाउँमा खपत भई बाँकी रहेको मात्रै हामीलाई पठाउने भएकाले भन्ने वेलामा कच्चा पदार्थ नै पाइदैन’, उनले भने, ‘पहिला ल्याएको सामान सकिन लाग्यो, अहिले अब अलिअलि भएको त्यही सामानले त्पादन गरिरहेका छौँ ।’

उनका अनुसार एक ट्रक ल्याउँदा दुई तीन वर्षसम्मको लागि पुग्छ । ‘जिल्लास्थित घरेलु तथा साना उद्योगमा उद्योग नवीकरण गर्न जाँदा त्यहाँका प्रमुखले आवश्यक पर्ने कच्चा पदार्थको बारेमा बुझिदिउँला नि भनेर भन्नुभएको थियो, अहिलेसम्म केही प्रतिक्रिया आएको छैन’, पौँजुले भने ।

एकातिर कच्चा पदार्थको अभाव अर्कोतिर पछिल्लो समयमा बाहिर देशबाट माग कम आएको कारण पनि उद्योग सञ्चालनमा समस्या पर्न थालेको सञ्चालक बताउँछन् । उद्योगमा वार्षिक रु दुई–तीन लाख कमाइ हुन्छ । सो उद्योगमा दिनको तीन कोरी निस्कन्छ । एक कोरीमा दुई २० वटा पत्र हुन्छ । बढीमा २० जनासम्म कामदारले काम गर्ने उद्योगमा अहिले पर्याप्त कच्चा पदार्थ नभएकै कारण कामदार कम हुँदै गएको जनाएको छ । अहिले १० जनामात्रै कामदारले काम गरिरहेको छ ।

यहाँ उत्पादन भएको कागज अमेरिकालगायतका देशमा निर्यात हुने सञ्चालक पौँजुले बताए । ‘हामीले पाटनस्थित डिफ्रेण्ड इन्टर प्राइजेजलाई दिन्छौँ, त्यहाँबाट विभिन्न रङमा पुनः प्रशोधन गरी बाहिर निर्यात हुन्छ’, उनले भने । अझ अहिले त बाहिरबाट पनि मा नआएको कारण उत्पादन गरेर गोदाम गरी राखेको सञ्चालक बताउँछन् । उद्योगमा उत्पादनको काम घट्न थालेपछि कामदार पनि बस्ने कि जाने भन्ने दोधारमा रहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us