लागु औषधसहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०७० फागुन ६ गते ११:१७ मा प्रकाशित

pakrau-arrestभक्तपुर, ६ फागुन – महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बिक्रीका लागि राखिएको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–८ बस्ने वर्ष २५ का रविन रञ्जितकार र मध्यपुरथिमि नगरपालिका–३ बस्ने वर्ष २४ का सजित धौबन्जारलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

उनीहरुलाई लागुऔषध डाइजोपाम एमपुल एक हजार ९०० थान र नुर्फिन एमपुल एक हजार ९०० गरी तीन हजार ८०० थानसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रमेश थापाले बताए ।

प्रहरीले रन्जितकारको घरमा लागुऔषध बेचबिखन गरिन्छ भन्ने गोप्य सुराकीको आधारमा उनको घरको खानतलासी लिएको थियो । उनको सुत्ने कोठामा प्लास्टिकको बोरामा राखिएका तीन हजार ८०० एमपुल लागुऔषध बरामद हो ।

लागुऔषध कारोबारी रन्जितकार र धौबन्जारले काठमाण्डुस्थित कालोपुलबाट लागुऔषध खरिद गरी अरुलाई बेच्ने गरेको अनुसन्धानबाट देखिएको जानकारी पत्रकार सम्मेलनमा प्रहरीले दिएको थियो ।

प्रहरीले करिब चार लाख ५० हजार मूल्य बराबरको लागुऔषध बरामद गरेको र कारोबारीले यही मूल्यको उक्त परिमाणको लागुऔषध करिब १९ लाखमा बिक्री गर्ने गरेको बताइएको छ ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध ऐनअन्तर्गत कारबाहीका लागि मंगलबार नै मुद्दा दायर गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us