काठमाण्डु, ६ फागुन – नेकपा एमालेको उपाध्यक्ष बामदेब गौतमले नेपाली काँग्रेसको पुच्छर बनेर सरकारमा नजाने प्रष्ट पारेका छन् ।
रिपोटर्स क्लवमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै गौतमले काँग्रेसको पुच्छरबन्दै टाङमुनी छिरेर सरकारमा नजाने बताएका हुन् ।
‘आफूसँग बहुमत नभएको काँग्रेसले टाङमुनी छिराएर एमालेलाई दयाको भिख दिन खोज्ने कुरा कुनै पनि हालतमा स्विकार्य हुँदैन,’ गौतमले भने ।
काँग्रेसले बहुमतको लागि आफूहरुसँग हात फैलाएको स्मरण गराउँदै गौतमले प्रधानमन्त्री निर्वाचनमा एमालेको समर्थन पाएपछि धोका दिएर लात हानेको आरोप लगाए ।
‘९५ मा पाँच जोड्दा सय बन्छ भने ९५ जत्तिकै महत्व पाँचको पनि हुन्छ, गौतमले भने, यो तथ्यलाई काँग्रेसले विर्सनु हुँदैन ।’
साथै गौतमले एमाले सत्तालिप्सा देखाउँदै सरकारमा जान मरिहत्ते नगर्ने स्पष्ट प्रष्ट पारेका छन् । एमालेले सरकार निर्माण र सरकारमा जानकै लागि सात बुँदे लिखित र अरु मौखिक भद्र सहमति गरेको उल्लेख गर्दै उनले नेपाली काँग्रेसले सहमतिको खिल्ली उडाएको आरोपसमेत लगाएका छन् ।
कार्यक्रममा सगरमाथाको सफल आरोहण गरिसकेका अल्ट्राधावक सञ्जय पण्डितलाई अफ्रिकाको किलिमन्जरो हिमाल आरोहरणको लागि शुभकामना दिँदै राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो ।