परासी, ६ फागुन – सरकारले अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीलाई जोडेर विस्तार गर्न लागेको सिमरा–लुम्बिनी पूर्व पश्चिम विद्युतीय रेल मार्ग नवलपरासीको हुलाकी सडकलाई केन्द्रित गरी विस्तार गर्न स्थानीय राजनीतिक दलहरुले माग गरेका छन् ।
लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको पूर्व पश्चिम रेलवेको नवलपरासीको पूर्व पश्चिम लोकमार्गको तम्सरीयादेखि देवदह, बुटवलको कालिकानगर, भैरहवाको मधवलिया क्षेत्र र बुद्ध जन्मस्थल लुम्बिनीमा सव स्टेसन वा जक्सन स्टेसन राख्ने गरी डिपिआर तय गरिएको छ ।
डिपिआरको जिम्मा पाएको अन्तर्राष्ट्रिय प्राविधिक कम्पनीले सिमरादेखि लुम्बिनीसम्मको रेलवे विस्तारका लागि नवलपरासीको तम्सरीया हुँदै लोकमार्ग आसपासबाट विस्तार गर्न सकिने प्रतिवेदन रेलवे तथा मेट्रो विकास आयोजनामा बुझाएपछि नवलपरासीका राजनीतिक दलहरु आन्दोलिन भएका हुन् ।
उनीहरुले उक्त स्थानबाट रेलवे विस्तार नगरी हुलाकी सडक र मधेस क्षेत्रलाई जोड्ने गरी विस्तार गर्न सरकारसँग माग गरेका छन् ।
नेपाली काँग्रेस नवलपरासीका सभापति देवेन्द्रराज कँडेलको नेतृत्वमा दलहरुले यसअघि नै प्रमुख जिल्ला अधिकारीमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।
लोकमार्गबाट रेल मार्ग विस्तार गर्दा धेरै धनजनको क्षति हुने, वनजङ्गल विनास हुने र दूरी पनि लामो हुने तर हुलाकी सडकबाट विस्तार गर्दा दूरी पनि छोटो हुने, धनजनको कम क्षति हुने र मधेस क्षेत्रको विकासमा पनि सहयोग पुग्ने भएकाले यस्तो माग गरिएको काँग्रेस जिल्ला सभापति कँडेलले बताए ।
हुलाकी मार्गबाट रेल मार्ग विस्तार हँुदा त्यस क्षेत्रका बासिन्दाको पहुँच पनि वृद्धि हुने र कम क्षतिमा निर्माण हुने भएकाले जिल्लाका सबै राजनीतिक दलहरुले संयुक्तरुपमा सरकारको ध्यानाकर्षण गराएको नेकपा (एमाले) नवलपरासीका अध्यक्ष तिलक महतले जानकारी दिए ।