विद्यामै छ महाशक्ति,कर्ममै छ सुपुजन

काठमाण्डु टुडे २०७० भदौ २३ गते १७:२७ मा प्रकाशित

                            खिलराज रेग्मी 
khilrajविद्यामै छ महाशक्ति, कर्ममै छ सुपुजन अर्थात् विद्या नै सबैभन्दा ठूलो शक्ति हो र कर्मको नै सबै स्थानमा पूजा हुन्छ भन्ने वैदिक मान्यता रहिआएको हाम्रो नेपाली सन्दर्भमा विगत लामो समयदेखि शैक्षिक उन्नयनका प्रशस्त कार्यहरु हुँदै आएका छन् । शिक्षाको अपरिहार्य आवश्यकता बोध गर्दै सम्पूर्ण बालबालिका तथा आम जनसमुदायको पहुँच पु¥्याउन तथा गुणस्तरीय शिक्षा प्रवाहका लागि राज्यले शिक्षामा विशेष योजना तथा कार्यक्रमहरु लागू गर्दै आएको छ ।

नेपालको अन्तरिम संविधान, २०६३ ले आधारभूत शिक्षालाई संवैधानिक हकका रुपमा प्रत्याभूत गर्दै प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको अवस्थामा आज शिक्षा प्राप्तिको विषय अधिकारको विषय बनेको छ । आधारभूत शिक्षालाई क्रमशः निःशुल्क र अनिवार्य गर्दै जाने लक्ष्यअनुरुप यसै वर्षदेखि तोकिएका जिल्लाहरुबाट अनिवार्य शिक्षा सुरु गर्ने लक्ष्य पनि सरकारले राखेको छ । विश्वका सफल मानिएका देशहरुले उच्च शिक्षामा अपनाएको विधि र माध्यम नै ती देशहरुको सफलताको सुत्र बनेकाले हाम्रो परिवेशमा पनि आधुनिक शैक्षिक प्रणालीको अवलम्बन गर्दै नवीन खोज, अनुसन्धान, अन्वेषणजस्ता विषयवस्तुलाई विशेष प्राथमिकताका साथ अपनाउँदै सरकारले शिक्षा, शिक्षक, विश्वविद्यालय र विद्यार्थीलाई प्रोत्साहन र प्रवद्र्धन गर्दै आएको छ । देशको वर्तमान अवस्थालाई निर्देशित गर्दै भविष्यका लागि आवश्यक दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गरी देश विकास गर्न तथा सेवामुखी कार्यक्रमहरू सञ्चालन गर्ने प्रयत्नहरुमा शिक्षालाई सशक्त माध्यमका रुपमा अपनाइएको छ ।

आधुनिक शिक्षा नीतिले विद्यार्थीहरुले अध्ययनका क्रममा आफूले आर्जन गरेको ज्ञानका आधारमा नवीन खोज र श्रृजना गर्दछन् वा गर्ने प्रयत्न गर्दछन् भने त्यस प्रकारका कार्यलाई राज्यले प्रोत्साहन गरी सक्दो सहयोग गर्दै जानुपर्दछ भन्ने मेरो मान्यता रहिआएको छ । सिपयुक्त शिक्षा, ज्ञान र सीपलाई प्रयोग गर्दै हाम्रै श्रोत र साधनहरुको अधिकतम प्रयोग गरी देश विकास गर्न रोजगारमुखी शिक्षाको विकास गर्नु आवश्यक छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म शैक्षिक संस्थाहरुको गुणस्तर सुधार गर्दै यसलाई समयसापेक्ष बनाउने प्रयासमा संलग्न सरकारी तथा गैरसरकारी संघसंस्था एवं आम जनसमुदायहरुको सहभागिता आवश्यक हुने भएकाले उहाँहरुलाई पनि सहयोगी हुँदै सहकार्य गर्नका लागि हार्दिक आग्रह गर्दछु । विद्यार्थीहरुको रचना र आविष्कारबाट नवीन सम्भावनाको द्वार खुल्दछ । यसकारण, विद्यालय, विद्यार्थी तथा शिक्षाक्षेत्रलाई हौसला र प्रेरणा प्रदान गर्ने कार्यलाई सँधै प्राथमिकता दिनुपर्दछ भन्ने मान्यताअनुरुप नै सरकारले यसप्रकारको पुरस्कृत गर्ने कार्यक्रम आयोजना गर्दै आएको हो भन्ने मलाई लाग्दछ ।
शैक्षिक क्षेत्रमा लगानी गर्दा आधारभूत शिक्षाको पहुँचमा विस्तार, शैक्षिक गुणस्तर सुधार, व्यावसायिक शिक्षाको विकास र विद्यालयको नतिजाप्रति विशेष ध्यान दिनुपर्ने हुन्छ । सूचना प्रविधिमा विद्यार्थीहरुको पहुँच बढाउन तथा मानव विकास सूचकाङ्कको आधारमा शिक्षाबाट वञ्चित भएका लक्षित क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विशेष ध्यान दिँदै जाने नीति अनुरुप सूचना तथा प्रविधिको विकासमा विशेष प्राथमिकता दिइएको छ । यद्यपि, हाम्रो नेपालको सन्दर्भमा शिक्षा प्राप्त गरी शैक्षिक उपाधी हासिल गरेतापनि शिक्षित जनशक्तिले अपेक्षित अवसर र रोजगारी प्राप्त गर्न नसकेको अवस्था छ । यही अवस्थालाई मैले शिक्षासम्बन्धी अधिकांश सार्वजनिक वक्तव्यहरुमा भन्ने गरेको पनि छु – नेपालमा विकासका लागि गर्नुपर्ने थुप्रै कार्यहरू एकातिर छ भने अर्कातिर सीप, क्षमता र योग्यता भएका थुप्रै नेपालीहरू भूमिका र जिम्मेवारीविहीन रूपमा रुमल्लिनुपरेको वास्तविकता पनि छ । यसप्रकारको असामञ्जस्यतालाई सम्बोधन गर्नका लागि शिक्षित जनशक्तिलाई उनिहरूले प्राप्त गरेको शिक्षाअनुरूपको भूमिका र जिम्मेवारी दिनसक्नुपर्दछ ।
शैक्षिक विकासका लागि सहज कार्यवातावरण आवश्यक पर्दछ र सहज कार्यवातावरण भन्ने विषयले भौतिक पूर्वाधार र संरचनाका साथसाथै सामाजिक परिवेशलाई ईङ्गित गरिरहेको हुन्छ । सामाजिक परिवेश र सहज कार्यवातावरणका लागि देशमा राजनीतिक व्यवस्था र सरकारको स्थायित्व आवश्यक पर्दछ । यस सन्दर्भमा मैले विभिन्न अवसरमा भन्दै आएको कुरा यहाँ पनि राख्दै वर्तमान अवस्थामा राजनीतिक स्थायित्व प्राप्तिका लागि हामीहरुको कार्य लक्षित हुनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्न चाहन्छु । राजनीतिक स्थायित्व नहुँदा नेपालमा हालसम्म हाम्रा विगतका घोषित लक्ष्य हासिल गर्न नसकिएको वास्तविकता छ । वर्तमान समयमा नेपाल तरल राजनीतिक संक्रमणमा रहेका कारण सबैभन्दा पहिले देशलाई संक्रमणबाट निकास दिई स्थायित्व कायम गर्नुपर्ने आवश्यकता छ । देशमा संविधान निर्माण गरी नेपाली आवश्यकता र परिवेशलाई सम्बोधन गर्नसक्ने शासन व्यवस्थाको थालनी गर्नका लागि अहिले संविधानसभाको निर्वाचन सम्पन्न गराउन हामीहरु लाग्नुपरेको छ । तसर्थ, सबै वर्ग, जाती, भौगोलिक क्षेत्र, धर्म, लिङ्ग, वर्ण, सँस्कृतिको प्रतिनिधित्व र समावेशीता सुनिश्चित गरी संविधानसभाको निर्वाचन सम्पन्न गराई संविधानसभाको गठन गरी नयाँ संविधान निर्माण गर्ने कार्यलाई सार्थक तुल्याउनु अपरिहार्य छ । यस कार्यमा वर्तमान सरकारको क्रियाशीलता रहेको कुरा यहाँहरुलाई जानकारी नै छ । त्यसैले, आगामी मंसिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा सक्रिय रुपमा लाग्न यहाँहरु सबैसँग हार्दिक आग्रह गर्दछु ।
राष्ट्रिय शिक्षा दिवस २०७० तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालयद्घारा २३ भदौमा आयोजित समारोहमा व्यक्त धारणाका सम्पादित अंश

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us