शालीनदी मेलामा दर्शनार्थीको घुँइचो

काठमाण्डु टुडे २०७० माघ १८ गते ४:२६ मा प्रकाशित

sali_nadi4-520x348काठमाण्डु, माघ – पौष शुक्ल पूणिर्मादेखि सुरु भएको साँखुस्थित शालीनदीमा श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको मेलामा अहिलेसम्म नौ लाखभन्दा बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् ।

पूजा आराधना गर्न हरेक दिन मुलुकका काठमाण्डु बाहेक छिमेकी जिल्ला सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, नुवाकोट, रसुवा  उयपुरलगायतबाट भक्तजनहरू आउने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष जयराम श्रेष्ठले बताए । यो धार्मिक स्थल राजधानीदेखि १७ कलोमिटर उत्तर पूर्वको प्राचीन नगर शङ्खरापुर साँखुमा अवस्थित छ ।

उनका अनुसार हालसम्म माइकिङ, चन्दा बाकस, सवारी साधन प्रवेश शुल्कलगायतबाट रु आठ लाख ५६ हजार आर्थिक संकलन भएको छ ।
समितिका अनुसार यस पटक गत वर्ष भन्दा मेला व्यवस्थित र मर्यादित रहेको र भक्तजनलाई दर्शनका लागि लामो समय लाइन बस्नु नपर्ने व्यवथा मिलाइएको छ ।

गत वर्षहरूमा मेलाको अन्तिम सातातिर मात्र घुँइचो लाग्ने गरेको भएपनि यस वर्ष भने मेलाको सुरुदेखि नै भक्तजनको ठूलो घुँइचो लागेकाले गत वर्षभन्दा भक्तजन बढ्ने समितिको अनुमान छ ।

भक्तजनका लागि सवारी पार्किङको व्यवस्था मिलाउन समितिले साँखुको आठवटा टोलका १२ स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरेको छ । अन्य ठाउँमा भने स्थानीय टोल सुधार समितिको नाममा प्रति मोटरसाइकल २० देखि चार पाङ्ग्रे सवारी साधनको रु १०० सम्म शुल्क उठाउने गरिएको छ ।

स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने वा सुने मनोकांक्षा पूरा हुने धार्मकि विश्वास छ । शालीनदी किनारमा महिला तथा पुरुषले स्वस्थानीको पूजा र बिहानैदेखि श्रीस्वस्थानीको व्रत र उपासना गर्ने गरेका छन् ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वास अनुसार मेला अवधिभर ती स्थानमा समेत भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लिखित छ ।

राजधानीमा श्रीस्वस्थानी परमेश्वरीको मन्दिर मखनटोलस्थित तारिणीबहालभित्र छ । शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल सम्वत् ७९४ मा स्थापना गरिएको मूर्तिपादमा उल्लिखित छ ।

शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णमिासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन छ । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख गरिएको छ ।

मेलामा आउने तीर्थालुहरूले सुरक्षालाई ध्यानमा राखी यस वर्षदेखि स्थानीय ३५ वटा  संस्थाहरूले सहकार्य गरेका छन् । साथै सुरक्षालाई ध्यानमा राख्दै समितिले आठवटा सिसी क्यामेरासमेत जडान गरेको छ ।

सो क्यामेरामार्फत मेला क्षेत्रको २४ सै घन्टा अनुगमन हुने महानगरी प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us